समाचार

कृष्णभीरको अवरुद्ध सडक सञ्चालनमा नयाँ ट्रयाक निर्माण सम्पन्न भएसँगै उक्त प्रतिबद्धता पूरा

Spread the love

सबिना प्रजा

संघीय संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहले घोषणा गरेको समयसीमाभित्रै ट्रयाक निर्माण सम्पन्न भएको हो। पूर्वाधार विकास मन्त्रालयका अनुसार अहिले सडकमा ग्राभेल बिछ्याउने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ।पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ। काम सुरु गरेको १०औँ दिनमै ट्रयाक तयार भएपछि आगामी असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

मन्त्रालयका अनुसार भोलिसम्म ग्राभेलको काम पूरा गरी असोज १ गते बिहीबार बिहानदेखि पूर्ण रूपमा दुईतर्फी सवारी सञ्चालन गरिनेछ। यसअघि गत भदौ २८ गतेदेखि ग्यास बुलेटलगायत अत्यावश्यक सवारी साधनलाई परीक्षणका रूपमा बिहान र बेलुका आवतजावत गर्न दिइएको थियो।सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूको सुझावअनुसार कृष्णभीरको कडा पहरो काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गरिएको हो।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सहजीकरणमा प्राविधिकसहित ५० जनाको टोलीले दैनिक १२ देखि १६ घण्टासम्म काम गरेको मन्त्रालयले जनाएको छ। करिब ३५ मिटर उचाइ र २० मिटर भित्री भागसम्म पहाड काट्दै निर्माण सुरु गरिएको १० दिनमै नयाँ ट्रयाक तयार पारिएको हो।गत भदौ १० गते आएको बाढीले सडकको सुरक्षा पर्खालमा क्षति पुर्‍याएको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले सुरक्षा पर्खाल पूर्ण रूपमा बगाएपछि सडकखण्ड ठप्प बनेको थियो।अवरुद्ध सडक खुलाउने विकल्पका लागि चार दिनको द्रुत प्राविधिक अध्ययनपछि भदौ १९ गतेदेखि रूख कटान गरी नयाँ ट्रयाक निर्माण सुरु गरिएको थियो। छोटो समयमै निर्माण सम्पन्न भएपछि लामो समयदेखि अवरुद्ध पृथ्वी राजमार्गमा पुनः नियमित यातायात सञ्चालनको बाटो खुलेको हो।रसुवाको भोटेकोशीमा आएको बाढी र राहत व्यवस्थापनबारे गत भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौभित्रै कृष्णभीरको अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए। नयाँ ट्रयाक निर्माण सम्पन्न भएसँगै उक्त प्रतिबद्धता पूरा हुने भएको छ।