समाचार

सर्वदलीय बैठकमा सहभागी हुन छुटेका दललाई समेत संयन्त्रमा समेट्नुपर्ने

Spread the love

टिकाराम भन्डारि

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको सर्वदलीय बैठकपछि बोल्दै नेपालले प्रधानमन्त्रीले आफैं बैठक बोलाएर राजनीतिक दल तथा विज्ञसँग परामर्श गरी निर्णयमा पुग्नुपर्ने बताए।नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले विपद् व्यवस्थापनका विषयमा प्रधानमन्त्रीले विभिन्न राजनीतिक दल तथा विज्ञसँग छलफल गरेर आवश्यक निर्णय लिनुपर्ने बताएका छन्।

उनले भोटेकोशी बाढीपछिको विपद् व्यवस्थापनमा सरकारको ध्यान खोजी, उद्धार, उपचार, राहत र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने बताए। साथै, अनुभवबाट सिक्दै सरकार र नेतृत्वले आगामी दिनमा थप परिपक्व ढंगले काम गर्नुपर्ने उनको भनाइ छ।नेपालका अनुसार रवि लामिछानेको पहलमा अघि बढाइएको सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने र संसद्भित्र विशेष समिति गठन गर्ने सहमति भएको छ। उक्त समितिले अहिलेको विपद् तथा जलवायु परिवर्तनबारे छलफल, अनुगमन र सरकारलाई सुझाव दिनेछ।उनले संसद्को विशेष समिति सकेसम्म एक साताभित्र गठन गर्न सभामुखसँग आग्रह गरिने बताए। साथै, सर्वदलीय बैठकमा सहभागी हुन छुटेका दललाई समेत संयन्त्रमा समेट्नुपर्ने विषय उठेको जानकारी दिए।नेपालले आफू प्रधानमन्त्री हुँदा सन् २००९ डिसेम्बर ४ मा सगरमाथा आधार शिविरमा जलवायु परिवर्तनसम्बन्धी मन्त्रिपरिषद् बैठक बसेको स्मरण गर्दै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको मुद्दा थप प्रभावकारी रूपमा उठाउनुपर्ने बताए।