नारायणगढमा तीजको रौनक फेरियो चोकका टेन्टदेखि होटलको दरसम्म

Spread the love

सबिना प्रजा

नारायणगढ । कुनै समय तीज पर्व आउनासाथ नारायणगढका चोक–चोकमा टेन्ट र तम्बु टाँगेर नाचगान गर्ने चलन थियो। लायन्सचोकदेखि पुलचोकसम्मका विभिन्न स्थानमा तीजका कार्यक्रम आयोजना हुन्थे। महिला दिदीबहिनीहरू समूह बनाएर तीजका मौलिक गीत गाउँदै नाचगानमा सहभागी हुने गर्दथे।

तीजका अवसरमा राजनीतिक दलका महिला संगठनदेखि सामाजिक संघ–संस्थासम्मले विभिन्न कार्यक्रम आयोजना गर्थे। नेपाली कांग्रेस, एमाले र माओवादी निकट महिला संगठनहरू चोकमा तीज गीत तथा नृत्य प्रस्तुत गर्न व्यस्त हुन्थे। सामाजिक संघ–संस्थाले भने मनोरञ्जनसँगै सामाजिक चेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्ने गरेका थिए।

जनरल वेलफेयर प्रतिष्ठानले विगतमा एचआईभी/एड्ससम्बन्धी जनचेतना फैलाउने उद्देश्यले तीज गीत कार्यक्रम आयोजना गर्ने गरेको स्थानीयहरू बताउँछन्। त्यसबेला तीज मनोरञ्जनको पर्व मात्र नभई सामाजिक सन्देश प्रवाह गर्ने माध्यमसमेत बन्ने गरेको थियो।

तर समयक्रमसँगै नारायणगढका चोकमा हुने यस्ता कार्यक्रमहरू घट्दै गए। संकटकालपछि चोक–चोकमा टेन्ट टाँगेर सामूहिक रूपमा गरिने तीजका नाचगान क्रमशः हराउँदै गए।

त्यसपछि तीजका कार्यक्रम एफएम रेडियोका आँगन र स्टुडियो हुँदै स्थानीय टेलिभिजनका कार्यक्रमसम्म पुगे। सञ्चार माध्यमको विस्तारसँगै तीज मनाउने शैलीमा पनि परिवर्तन आयो। केही समयपछि तीजको मौलिक गीत–नाचभन्दा ‘दर’ खाने कार्यक्रम बढी चर्चामा आउन थाले।

दर खाने कार्यक्रम पनि विस्तारै होटल तथा पार्टी प्यालेस केन्द्रित हुन थालेका छन्। कतिपय कार्यक्रममा तीज गीतसँगै हिन्दी चलचित्रका गीत र नृत्यसमेत प्रस्तुत हुन थालेपछि तीजको मौलिकता कमजोर हुँदै गएको संस्कृतिकर्मीहरूको बुझाइ छ।

यस वर्ष भने देशका विभिन्न क्षेत्रमा देखिएको राष्ट्रिय विपद्का कारण नारायणगढमा तीजको विगतजस्तो रौनक देखिएको छैन। तर तीजको मौलिकता हराउँदै गएको विषय भने यस वर्षको मात्र समस्या होइन। समयक्रमसँगै तीज मनाउने परम्परा र शैलीमा आएको परिवर्तनले धेरै पहिलेदेखि नै यसको मौलिक स्वरूपमा प्रभाव पार्दै आएको छ।

चोकका टेन्टमा सामूहिक रूपमा गीत गाउँदै र नाच्दै मनाइने नारायणगढको पुरानो तीज अहिले होटल र पार्टी प्यालेसका दर कार्यक्रमसम्म आइपुगेको छ। बदलिँदो समयसँगै तीजको स्वरूप परिवर्तन भए पनि यसको मौलिकता, सामाजिक भावना र सांस्कृतिक पहिचान जोगाउनु आवश्यक देखिन्छ।