वायुसेवा कम्पनीहरूले भाडा नियन्त्रणमा राख्ने निर्णय दशैं तिहार छठमा घर फर्किने यात्रुलाई आर्थिक राहत पुग्ने

Spread the love

टिकाराम भन्डारि

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्राकृतिक विपत्तिको वर्तमान अवस्थालाई ध्यानमा राख्दै आन्तरिक वायुसेवा कम्पनीहरूलाई हाल कायम हवाई भाडा नबढाउन निर्देशन दिएको छ। यात्रुलाई पर्याप्त टिकट उपलब्ध गराउन तथा तोकिएको अधिकतम सीमाभन्दा बढी भाडा नलिनसमेत प्राधिकरणले आग्रह गरेको छ।बाढी तथा पहिरोका कारण देशका प्रमुख सडक तथा राजमार्ग प्रभावित भइरहेका बेला नजिकिँदै गरेका दशैं, तिहार र छठ पर्वमा घर फर्किने यात्रुलाई हवाई यात्रामा केही राहत मिल्ने भएको छ। चाडपर्वको समयमा यात्रुको चाप बढे पनि आन्तरिक वायुसेवा कम्पनीहरूले माग बढेको कारण मात्रै हवाई भाडा नबढाउने जनाएका छन्।

यसैबीच, बुद्ध एयरले दशैं, तिहार हुँदै छठसम्म न्यूनतम लागू भाडादरमै सेवा दिने जनाएको छ। कम्पनीका अनुसार सडक यातायात सहज नभएसम्म यात्रुको चाप बढे पनि मागका आधारमा महँगो भाडा श्रेणीमा टिकट बिक्री गरिने छैन।बाढीका कारण कतिपय सडक तथा राजमार्ग अवरुद्ध भएकाले हवाई सेवा अहिले केही यात्रुका लागि सुविधा मात्रै नभई घर पुग्ने प्रमुख विकल्पसमेत बनेको बुद्ध एयरको भनाइ छ। यात्रुको माग बढ्दै गएमा उडान संख्या थप गर्ने तयारीसमेत कम्पनीले गरेको जनाएको छ।तर हवाई इन्धनको मूल्यमा उल्लेख्य वृद्धि भएमा भने भविष्यमा हवाई भाडा समायोजन गर्नुपर्ने अवस्था आउन सक्ने बुद्ध एयरले स्पष्ट पारेको छ। कम्पनीका अनुसार सन् २०२६ को फेब्रुअरीदेखि अगस्टसम्म हवाई इन्धनको मूल्यमा वृद्धि भएकाले इन्धन लागत बढे त्यसको प्रभाव भाडामा पर्न सक्नेछ।

श्री एयरलाइन्सले पनि चाडपर्वको समयमा यात्रुको चाप बढे पनि निश्चित भाडादरमै सेवा दिने जनाएको छ। कम्पनीले वर्तमान विपद्को अवस्था सामान्य नहुँदासम्म माग बढेको आधारमा टिकटको मूल्य नबढाउने बताएको छ।श्री एयरलाइन्सका अनुसार काठमाडौं–पोखरा रुटको भाडा ६ हजार रुपैयाँ, काठमाडौं–जनकपुरको ६ हजार २ सय रुपैयाँ, काठमाडौं–भरतपुरको ५ हजार ९ सय ४६ रुपैयाँ, काठमाडौं–विराटनगरको ७ हजार ७ सय रुपैयाँ, काठमाडौं–नेपालगन्जको ८ हजार ३ सय रुपैयाँ, काठमाडौं–भद्रपुरको ८ हजार ५ सय रुपैयाँ र काठमाडौं–धनगढीको १० हजार ८ सय रुपैयाँ कायम गरिएको छ।बोटेकोशी बाढीपछि विभिन्न राजमार्ग तथा सडक मार्ग प्रभावित हुँदा राजधानीबाट पोखरा, धनगढी, नेपालगन्जलगायत गन्तव्यतर्फ जाने यात्रुको चाप हवाई सेवामा बढ्न थालेको छ। सामान्य अवस्थामा चाडपर्वमा यात्रुको माग बढ्दा सस्तो भाडाका टिकट सकिएपछि महँगो फेयर स्ल्याबमा टिकट बिक्री हुने गरे पनि यस वर्ष विपद्को अवस्थालाई ध्यानमा राख्दै त्यस्तो मूल्यवृद्धि रोक्ने प्रयास गरिएको हो।

यसैगरी, बुद्ध एयरले बाढी प्रभावितका लागि राहत सामग्री निःशुल्क हवाई ढुवानीसमेत गरिरहेको जनाएको छ। सडक यातायात सहज नभएसम्म प्रभावित समुदायलाई आवश्यक सामग्री पुर्‍याउन हवाई सेवाको प्रयोगलाई सहज बनाउने प्रयास जारी रहने कम्पनीको भनाइ छ।हालको प्रतिबद्धताअनुसार दशैंको समयमा यात्रुको चाप बढेकै कारण मात्रै हवाई टिकट महँगो हुने सम्भावना कम गरिएको छ। तर हवाई इन्धनको मूल्य बढेमा भविष्यमा भाडा समायोजन हुन सक्ने भएकाले त्यसतर्फ भने यात्रुले ध्यान दिनुपर्ने देखिन्छ।चाडपर्वमा घर जाने यात्रुको संख्या बढ्ने भएकाले टिकटको उपलब्धता भने चुनौतीपूर्ण हुन सक्नेछ। भाडा स्थिर राख्ने प्रतिबद्धता भए पनि लोकप्रिय गन्तव्यका सिट सीमित हुने भएकाले अन्तिम समयमा टिकट पाउन कठिन हुन सक्ने देखिएको छ।

बाढीका कारण सडक यात्रा जोखिमपूर्ण तथा कठिन बनेको अवस्थामा यस वर्ष धेरै नेपालीका लागि हवाई यात्रा घर फर्किने महत्वपूर्ण विकल्प बनेको छ। यस्तो परिस्थितिमा वायुसेवा कम्पनीहरूले भाडा नियन्त्रणमा राख्ने निर्णय गरेकाले दशैं, तिहार र छठमा घर फर्किने हजारौँ यात्रुलाई केही आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ।