भग्नावशेषभित्र बाट सकुशल बाहिर निस्कने परिवारकाे आसा

Spread the love

सुरेश कुमार थपलिया

बुटवल उपमहानगरपालिका–११ देवसिद्ध चोक, थापा पथमा बसोबास गर्दै आएका किशोर न्याैपाने भदौ १० गते बिहान नियमित ड्युटीमा गएका थिए। त्यसअघि बिहान करिब ८ बजे उनले बुटवलमा रहेका श्रीमती अन्जु, सात वर्षीय छोरा अतीस र १५ वर्षीया छोरी करुणासँग फोनमा कुरा गरेका थिए।रसुवागढी जलविद्युत् आयोजनामा मेकानिकल ओभरसियरका रूपमा कार्यरत किशोर न्यौपाने क्षेत्री भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि १२ दिनदेखि बेपत्ता छन्। बाढी आएको दिनदेखि उनको कुनै खबर नआए पनि परिवारले उनी सुरुङभित्रै सकुशल रहेको आशा अझै छाडेका छैनन्।

जलविद्युत् आयोजनाको पावर हाउसमा ड्युटी भएकाले त्यहाँ मोबाइल सम्पर्क नहुने भन्दै उनले दिउँसो ड्युटी सकिएपछि पुनः फोन गर्ने बताएका थिए। त्यसको करिब ४० मिनेटपछि, बिहान ८ः४० बजे पाल्पामा रहेका एक साथीलाई मतदाता परिचयपत्र हराएको र नयाँ बनाउन आवश्यक प्रक्रिया के हो भनेर म्यासेज गरेका थिए। तर त्यसपछि उनको अवस्था पूर्ण रूपमा अज्ञात छ।

किशोरसँग कुरा गरेर घरायसी काममा लागेकी श्रीमती अन्जुले करिब १० बजे भोटेकोशीको बाढीले रसुवा हाइड्रोपावर बगाएको समाचार थाहा पाएपछि पाल्पामा रहेका ससुरा बलबहादुरलाई खबर गरेकी थिइन्।बुहारीले रुँदै फोन गरेपछि बल्ल घटनाबारे थाहा भयो। त्यसपछि धेरै ठाउँमा हारगुहार गर्‍यौँ, तर आज १२ दिन भइसक्दा पनि छोराको कुनै खबर पाउन सकेका छैनौँ,’ किशोरका बुवा बलबहादुरले भने।बलबहादुर र किशोरकी आमा टिका कुमारी पाल्पामा बस्दै आएका थिए। उनीहरूका एक मात्र छोरा किशोर बाढीमा बेपत्ता भएपछि दुवैजना बुटवल आएका छन्।‘छोरा जीवितै भेटिन्छन् भन्ने आशा छ’परिवारले किशोरको खोजीको आशा अझै त्यागेका छैनन्। पछिल्ला दिनमा सुरुङ तथा भग्नावशेषभित्रबाट मानिसहरू जीवितै उद्धार भएका खबरले उनीहरूको आशा झन् बलियो बनाएको छ।किशोरका काका रामुका अनुसार आइतबार परिवारमा दाहसंस्कारको विषयमा समेत कुरा चलेको थियो। तर किशोरकी आमाले छोरा सकुशल फर्किने विश्वासका कारण त्यसका लागि सहमति जनाइनन्।

किशोरका परिवारले रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिहरूमध्ये किशोर पनि जीवितै हुन सक्ने आशा गरेका छन्।९३ जना सम्पर्कविहीन रहेको परिवारको दाबीकिशोरका काका रामुका अनुसार बाढीपछि रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन छन्। उनका अनुसार आयोजनाका नियमित तथा दैनिक ज्यालादारी कर्मचारी, सञ्चालक र ठेकेदार कम्पनीका कर्मचारीसमेत बेपत्ता रहेको बताएका छन्।आयोजनाका पावर हाउस क्षेत्रमा काम गर्ने करिब १२ जना सुरुङभित्रै फसेको आशंका गरिएको छ। परिवारका अनुसार किशोर पनि त्यही समूहमा हुन सक्ने आशंका छ।परिवारले सरकार र आयोजनाले सुरुङभित्र रहेका व्यक्तिको खोजीमा सुरुवातदेखि नै पर्याप्त ध्यान नदिएको गुनासो गरेको छ। उनीहरूका अनुसार घटनाको केही दिनसम्म उद्धार टोली पुगेन र आफन्तहरूले काठमाडौं पुगेर दबाब दिएपछि मात्रै खोजी अभियान अघि बढाइएको हो। शनिबारदेखि सुरुङमा उद्धार प्रयास पावर हाउस क्षेत्रमा करिब १२ जना फसेको आशंका गरिएको आयोजनामा शनिबारदेखि नेपाली सेनाले उद्धार प्रयास थालेको परिवारले जनाएको छ। प्रतिकूल मौसम र आवश्यक उपकरणको अभावका कारण यसअघि उद्धार कार्य सुरु गर्न कठिनाइ भएको बताइएको छ।जलविद्युत् आयोजनाले पनि आफ्नै पहलमा उद्धार टोली परिचालन गरी खोजी गरिरहेको जनाएको छ।यसबीच किशोरको परिवार भने उनको घर फर्किने दिन कुरिरहेको छ। बुटवलस्थित घरमा पुग्दा छरछिमेक तथा आफन्तहरू परिवारलाई सान्त्वना दिन पुगिरहेका छन्।

बुवा बलबहादुर र आमा टिका कुमारी छोरा फर्किने आशामा टोलाइरहेका छन्। सात वर्षीय छोरा अतीस भने बारम्बार बुवा घर फर्किने बाटो हेरिरहेका छन्। श्रीमती अन्जु र छोरी करुणाको अवस्था पनि घटनापछि अत्यन्तै पीडादायी बनेको परिवारले जनाएको छ।आज १२ दिन भयो। अहिलेसम्म कुन अवस्थामा छ भन्ने केही थाहा छैन। जे जस्तो अवस्थामा भए पनि एउटा खबर पाए पनि बाटो खुल्थ्यो। केही पनि पत्ता नलाग्नुजस्तो पीडा अरू केही नहुने रहेछ। सरकारले हाम्रो छोराको अवस्था छिटो पत्ता लगाओस्,’ बुवा बलबहादुरले भने।किशोरको परिवार अहिले एउटै आशामा छ—भग्नावशेषभित्र कतै जीवन बाँकी छ र उनी एक दिन सकुशल बाहिर निस्कनेछन्।