वर्षाका कारण थुप्रिएको माटो ढुंगा तथा गेग्रान बग्दा नयाँ जोखिम सिर्जना हुनसक्ने

Spread the love

उच्च हिमाली जोखिममा काम गर्ने अन्तर्राष्ट्रिय विज्ञ सञ्जाल ‘हाइरिस्क’ले गरेको द्रुत जोखिम मूल्यांकनले भदौ १० गतेको घटनाले स्रोत क्षेत्रमा रहेका सबै अस्थिर हिमनदी तथा त्यस आसपासका चट्टानी भाग बगाएर नलगेको देखाएको छ।रसुवाको लाङटाङ क्षेत्रमा भदौ १० गते विशाल हिम–चट्टानी पहाड भत्किएर विनाशकारी बाढी आएको एक साता बितिसक्दा पनि जोखिम पूर्ण रूपमा टरिनसकेको वैज्ञानिकहरूले बताएका छन्।हाइरिस्कका अनुसार हिमनदी आसपास अझै अस्थिर अवस्थामा रहेका चट्टान र हिउँको ठूलो भाग बाँकी हुनसक्छ। त्यसैले आगामी दिनमा थप हिम–चट्टान खस्ने वा त्यससँग सम्बन्धित अर्को घटना हुनसक्ने जोखिम रहेको छ।यद्यपि आगामी घटना भदौ १० गतेको जस्तै ठूलो हुनैपर्छ भन्ने छैन। तर सानो घटना भए पनि त्यसले नदी तथा खोँच क्षेत्रमा नयाँ जोखिम सिर्जना गर्न सक्ने वैज्ञानिकहरूको चेतावनी छ।ठूलो वर्षा भए जोखिम बढ्न सक्छ ।भदौ १० गते आएको तीव्र बहावले तलतिरका धेरै भिरालो पहाडी पाखा काटेर अस्थिर बनाएको हाइरिस्कको निष्कर्ष छ।

त्यस क्षेत्रमा अहिले ठूलो मात्रामा खुकुलो माटो, ढुंगा तथा गेग्रान थुप्रिएको छ। आगामी दिनमा ठूलो वर्षा भयो, माथिल्लो क्षेत्रमा हिमताल तीव्र रूपमा बढ्यो वा अचानक पानीको निकास भयो भने ती सामग्री पुनः बग्न सक्ने जोखिम छ।

यसका कारण लाङटाङ क्षेत्रमा अचानक आउने बाढी सामान्य अवस्थाभन्दा बढी शक्तिशाली हुनसक्ने जोखिम केही समयसम्म कायम रहने हाइरिस्कले जनाएको छ।यसको प्रभाव केही दिनमा मात्र सीमित नहुन सक्ने र भू–भाग स्थिर हुन लामो समय लाग्न सक्ने वैज्ञानिकहरूको आकलन छ।चीनको नयाँ निगरानीले पनि देखायो जोखिमहाइरिस्कको चेतावनीसँगै चीनको पछिल्लो निगरानीले पनि पहिलो हिम–चट्टान खसेको क्षेत्र आसपास जोखिम बाँकी रहेको देखाएको छ।चीनको जलस्रोत मन्त्रालयले सेप्टेम्बर १ बिहान ड्रोनबाट खिचिएका तस्बिर विश्लेषण गर्दै नेपालतर्फको मुख्य प्रभावित क्षेत्र आसपासका हिम–चट्टान अझै खस्न सक्ने अवस्थामा रहेको र गम्भीर जोखिम बाँकी रहेको जनाएको छ।त्यसैगरी सेप्टेम्बर १ दिउँसोका भूउपग्रह तस्बिरमा तल्लो नदीका दुवै किनारमा साना पहिरो देखिएको चीनले जनाएको छ।यी पहिरो नदीमा खसेर नदी थुनिएमा नयाँ ताल बन्न सक्ने जोखिमसमेत रहेको चिनियाँ जलस्रोत मन्त्रालयको निष्कर्षलाई चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ।

मुख्य खाडलको पानी भने लगभग सकियो चीनले जोखिमको अर्को सकारात्मक पक्षसमेत सार्वजनिक गरेको छ।चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार प्रभावित क्षेत्रको मुख्य खाडलमा जम्मा भएको पानी लगभग निस्किसकेको छ र तलतिरको नदी अहिले सामान्य रूपमा बगिरहेको छ।चीनतर्फ बनेको मुख्य तालको पानी पनि पूर्ण रूपमा निकास भइसकेको र त्यसबाट तत्काल ठूलो बाढी आउने जोखिम नियन्त्रणमा आएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

तर अस्थिर पहाडी पाखा र नयाँ पहिरोको जोखिम भने अझै कायम रहेको छ।हाइरिस्कको चेतावनी के हो?हाइरिस्क कुनै सरकारी निकाय होइन। यो उच्च हिमाली क्षेत्रमा जोखिमसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय विज्ञहरूको सञ्जाल हो।यसमा भारतको आइआइटी रुड्की, युनिभर्सिटी अफ सेन्ट्रल एसिया तथा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत पर्वतीय जोखिम तथा वातावरणसम्बन्धी संस्थालगायतका विज्ञ तथा अनुसन्धानकर्ता जोडिएका छन्।हाइरिस्कले अगस्ट २८ मा सार्वजनिक गरेको ‘लाङटाङ–ल्हेन्दे खोला विपत्तिको द्रुत जोखिम मूल्यांकन’ आठ जना अनुसन्धानकर्ताले संयुक्त रूपमा तयार पारेका हुन्।यसमा ल्यान्डस्याट–९ र प्लानेट भूउपग्रहका तस्बिर, हिम–चट्टान खसेको क्षेत्रका दृश्य तथा नेपाल सरकारका प्राविधिक प्रतिवेदनलगायत उपलब्ध तथ्य अध्ययन गरिएको थियो।तर यो प्रतिवेदन वैज्ञानिक जर्नलमा प्रकाशित भइसकेको अन्तिम समीक्षित अनुसन्धान भने होइन। हाइरिस्कले यसलाई घटनालगत्तै उपलब्ध तथ्यका आधारमा तयार गरिएको ‘द्रुत जोखिम मूल्यांकन’ का रूपमा प्रस्तुत गरेको छ।त्यसैले यसको निष्कर्षलाई अन्तिम वैज्ञानिक निष्कर्षभन्दा तत्कालीन अवस्थाको प्राविधिक मूल्यांकनका रूपमा बुझ्नुपर्ने हुन्छ।चीनले पनि निरन्तर निगरानी गरिरहेको छचीनले भदौ ११ देखि नै लाङटाङ आसपास बनेका ताल, नदीको बहाव, हिमनदी तथा सम्भावित दोस्रो विपत्तिको जोखिमलाई निगरानी गर्न जलविज्ञान टोली परिचालन गरेको छ।चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार प्रभावित क्षेत्रमा ११ सदस्यीय जलविज्ञान आपतकालीन निगरानी टोलीलाई चार समूहमा विभाजन गरेर विभिन्न खोलामा परिचालन गरिएको छ।टोलीले पानीको सतह र बहाव नाप्नुका साथै ड्रोनबाट पानीको गति मापन, नदीको भू–आकृति अध्ययन तथा केही स्थानमा भिडियो निगरानीसमेत गरिरहेको छ।

यसरी हाइरिस्कको वैज्ञानिक मूल्यांकन र चीनको पछिल्लो सरकारी निगरानी दुवैले लाङटाङ क्षेत्रमा जोखिम पूर्ण रूपमा समाप्त नभएको संकेत गरेका छन्।भदौ १० को बाढीले बदल्यो भूगोलजोखिम अझै किन कायम छ भन्ने बुझ्न भदौ १० गतेको घटनापछिभू–भागमा आएको परिवर्तनलाई पनि हेर्नुपर्ने हुन्छ।हाइरिस्कको प्रारम्भिक पुनर्निर्माणअनुसार करिब १ देखि १.३ किलोमिटर चौडा क्षेत्रमा हिमनदी र त्यसअन्तर्गतको आधार चट्टान भत्किएको थियो।हिम–चट्टानको विशाल पिण्ड करिब ५ हजार २०० मिटर उचाइबाट तल खसेको र बाटोमा थप सामग्री सोहोर्दै ३ हजार मिटरभन्दा तलको उपत्यकाको पिँधसम्म पुगेको आकलन गरिएको छ।त्यसपछि ल्हेन्दे खोला केही समयका लागि थुनिएको र अस्थायी अवरोध भत्किएपछि ठूलो बाढी आएको हाइरिस्कको प्रारम्भिक निष्कर्ष छ।

यस घटनाले नदीको पिँध र खोँचको स्वरूप परिवर्तन गर्नुका साथै तल्लो क्षेत्रमा रहेका भिरालो पाखालाई अस्थिर बनाएको छ।त्यस क्षेत्रमा अहिले ठूलो मात्रामा खुकुलो गेग्रान, ढुंगा तथा माटो थुप्रिएको छ।तुरुन्तै अर्को ठूलो बाढी आउँदैछ’ भन्ने होइनवैज्ञानिक तथा चिनियाँ पक्षको चेतावनीको अर्थ भदौ १० गतेको जस्तै अर्को विशाल बाढी तत्काल आउँदैछ भन्ने होइन।हाल त्यस्तो घटनाको स्पष्ट प्रमाण नरहेको बताइएको छ।मुख्य चिन्ता भनेको भदौ १० गतेको घटनाले अस्थिर बनाएको पहाडी भू–भाग अझै पुरानै स्थिर अवस्थामा नफर्किएको विषय हो।माथिल्लो क्षेत्रमा अर्को हिम–चट्टान खस्दा, नदी किनारमा पहिरो जाँदा वा ठूलो वर्षाका कारण अहिले थुप्रिएको माटो, ढुंगा तथा गेग्रान बग्दा नयाँ जोखिम सिर्जना हुनसक्ने अवस्था छ।त्यसैले लाङटाङ तथा आसपासका क्षेत्रमा उद्धार, पुनर्निर्माण, जलविद्युत् आयोजनासम्बन्धी काम र नदी आसपासको आवतजावत गर्दा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।