राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण धरोहर
इतिहास नष्ट गरेर मुलुकको विकास र समृद्धि सम्भव नहुने जिकिर गरेका हुन्। उनका अनुसार ऐतिहासिक सम्पदा, संस्कृति र पहिचान जोगाउँदै त्यसलाई आधुनिकतासँग जोड्नु नै देश निर्माणको सही बाटो हो।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले सिंहदरबार नेपालको इतिहास, शासन व्यवस्था र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण धरोहर भएको बताएका छन्।
शाहीले संसारका कुनै पनि मुलुकले आफ्नो इतिहास मेटाएर समृद्धिको यात्रा तय नगरेको उल्लेख गरे। उनले ऐतिहासिक धरोहर संरक्षण गरेर त्यसलाई विश्वसामु चिनाउने अभ्यास अन्य देशले गर्दै आएको बताए।सिंहदरबारलाई सामान्य भवन वा नामका रूपमा मात्र बुझ्न नहुने उनको भनाइ छ। नेपालको शासन व्यवस्था र राष्ट्रिय पहिचानसँग गाँसिएको यस धरोहरलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउनुपर्ने उनले बताए।
उनले इतिहास नागरिकको पहिचानसँग जोडिएको भन्दै पहिचान जोगाएर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने धारणा राखे।रास्वपा सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले आइतबार सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका थिए। नेपालमा सिंह नहुने भएकाले ‘सिंहदरबार’ नाम उपयुक्त नभएको तर्क गर्दै उनले ‘अनामनगर दरबार’ नाम राख्न सुझाव दिएका थिए।शाहीको पछिल्लो धारणा ढकालको उक्त प्रस्तावको प्रतिक्रियाका रूपमा आएको हो।
