स्नातकलाई तालिमसहित रोजगारी दिने कार्यक्रम सञ्चालन
दक्षिण कोरियाका ठूला कम्पनीहरू, विशेषगरी सामसुङजस्ता संस्थाले नयाँ स्नातकभन्दा अनुभवी कर्मचारीलाई प्राथमिकता दिन थालेका छन्। साथै धेरै कर्मचारी लामो समयसम्म एउटै जागिरमा रहने भएकाले नयाँ पुस्ताका लागि रोजगारीका अवसर सीमित भएका छन्।दक्षिण कोरियामा राम्रो प्रवेश–स्तर (इन्ट्री लेभल) को रोजगारी पाउन कठिन हुँदै गएपछि त्यहाँका युवा रोजगारीको खोजीमा छिमेकी देश जापानतर्फ आकर्षित हुन थालेका छन्। स्वदेशमा अवसरको अभाव र जापानमा बढ्दो श्रमिक मागले यो प्रवृत्ति तीव्र बन्दै गएको हो।
उता जापानमा वृद्ध जनसंख्या बढ्दै जाँदा नयाँ जनशक्तिको अभाव देखिएको छ। जापानी कम्पनीहरूले नयाँ स्नातकलाई तालिमसहित रोजगारी दिने कार्यक्रम सञ्चालन गरिरहेका छन्। पछिल्लो तथ्यांकअनुसार दक्षिण कोरियाको युवा बेरोजगारी दर ७ प्रतिशत रहेको छ भने जापानको समग्र बेरोजगारी दर २.५ प्रतिशत मात्रै छ।
कोरिया श्रम संस्थानका अनुसार हाल ८० हजारभन्दा बढी दक्षिण कोरियाली नागरिक जापानमा खुद्रा व्यापार, सूचना प्रविधि (आईटी), गेम डेभलपमेन्टलगायतका व्यावसायिक क्षेत्रमा कार्यरत छन्।कोरियाको मानव संसाधन विकास सेवाका अनुसार सरकार समर्थित कार्यक्रममार्फत जापानमा रोजगारीका लागि जाने युवाको संख्या तीव्र रूपमा बढेको छ। गत वर्ष २ हजार २५७ जना कोरियाली युवा जापान गएका थिए, जुन अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशत बढी हो। यससँगै जापान उनीहरूको प्रमुख वैदेशिक रोजगारी गन्तव्य बनेको छ।
जापानी रोजगारदाता र कोरियाली युवालाई जोड्ने ‘कोरेक’ स्टार्टअपकी संस्थापक मो कासुगाईका अनुसार धेरै कोरियाली युवा दक्ष र प्रतिभाशाली भए पनि स्वदेशमा अवसर नपाएकाले जापान रोजिरहेका छन्। जापानी भाषा जान्ने भएकाले उनीहरूलाई जापानी कम्पनीहरूले पनि प्राथमिकता दिने गरेका छन्।दक्षिण कोरियाली विद्यार्थी किम सि–ह्योनका अनुसार धेरै युवालाई जापानमा बस्ने रुचिसँगै त्यहाँ पाइने तालिम र करियर विकासको अवसरले पनि आकर्षित गरेको छ। दक्षिण कोरियाका धेरै कम्पनीले नयाँ स्नातकलाई यस्तो संरचित तालिम उपलब्ध गराउँदैनन्।
हाङ्कुक विश्वविद्यालयका प्राध्यापक ली चाङ–मिनका अनुसार भाषा र संस्कृतिमा सहज भएकाले कोरियाली युवा जापानी रोजगारदाताका लागि आकर्षक जनशक्ति बनेका छन्।यद्यपि औसत तलब दक्षिण कोरियामा जापानभन्दा केही बढी भए पनि करियर विकास, तालिम र रोजगारीको स्थायित्वका कारण धेरै युवा जापान जान इच्छुक छन्। पछिल्लो समय सियोलमा जापान केन्द्रित रोजगारी मेला पनि नियमित आयोजना हुन थालेका छन्।विश्लेषकहरूका अनुसार रोजगारीको यो बढ्दो आदान–प्रदानले दुई देशबीच ऐतिहासिक रूपमा रहेको दूरी घटाउँदै जनस्तरको सम्बन्धलाई थप मजबुत बनाइरहेको छ। तर जापानी कम्पनीहरूका लागि कोरियाली युवाको छिटो जागिर परिवर्तन गर्ने प्रवृत्ति भने अझै चुनौतीका रूपमा रहेको छ।
