भारतीय मुद्राको स्रोत र वैधानिकता बारे अनुसन्धान जारी
नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार नेपाली नागरिकले भारतीय दुई सय र पाँच सय दरका नोट प्रतिव्यक्ति अधिकतम २५ हजार रुपैयाँसम्म मात्र साथमा ल्याउन, लैजान वा सटही गर्न पाउँछन्। यसभन्दा बढी रकम ओसारपसार गर्न पाइँदैन। त्यो अवैध हुन्छ। यही व्यवस्थाबीच भारतसँग सीमा जोडिएको बाँकेका मेडिकल व्यवसायी तथा नेपाली कांग्रेसका नेता डा. सुरेशकुमार कनोडियाको घरबाट ठूलो परिमाणमा भारतीय र नेपाली नगद बरामद भएको छ।
प्रहरी स्रोतका अनुसार खानतलासीका क्रममा भारतीय ५०० दरका १ हजार ६६३ थान (८ लाख ३१ हजार ५००), १०० दरका १ हजार २०९ थान (१ लाख २० हजार ९००), ५० दरका २७१ थान (१३ हजार ५५०), २० दरका ३३४ थान (६ हजार ६८०), १० दरका ७१ थान (७१०), ५ दरका ३८ थान (१९०), २ दरका १०० थान (२००), १ दरका ३०० थान (३००) तथा २०० दरको एक थान नोट गरी जम्मा ९ लाख ६० हजार ६८० भारतीय रुपैयाँ बरामद भएको छ। साथै १५ लाख ३९ हजार ५७० नेपाली रुपैयाँ पनि फेला परेको प्रहरीले जनाएको छ।नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार नेपाली नागरिकले भारतीय दुई सय र पाँच सय दरका नोट प्रतिव्यक्ति अधिकतम २५ हजार रुपैयाँसम्म मात्र साथमा ल्याउन, लैजान वा सटही गर्न पाउँछन्। यसभन्दा बढी रकम ओसारपसार गर्न पाइँदैन। त्यो अवैध हुन्छ। यही व्यवस्थाबीच भारतसँग सीमा जोडिएको बाँकेका मेडिकल व्यवसायी डा. सुरेशकुमार कनोडियाको घरबाट ठूलो परिमाणमा भारतीय र नेपाली नगद बरामद भएको छ।
नेपालगन्ज उपमहानगरपालिका–२, वीपीचोकस्थित डा. कनोडियाको घरमा साउन ८ गते जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले अदालतको आदेशअनुसार खानतलासी गरेको थियो। अदालतका कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहवरमा करिब सात घण्टा चलेको खानतलासी घरेलु हिंसा तथा चोरीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा गरिएको थियो। यो प्रक्रिया डा. कनोडियाका कान्छा छोरा डा. नितेश कनोडियाकी पत्नी ग्रेस रौनियारले दिएको चोरीसम्बन्धी उजुरीपछि अघि बढाइएको हो। ग्रेसले करिब दुई करोड ५० लाख रुपैयाँ बराबरका सुन, हिरा, चाँदी तथा अन्य बहुमूल्य सामग्री परिवारले लुकाएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी थिइन्। यसअघि अदालतले आफ्ना गरगहना निकाल्न दिन आदेश दिए पनि सामान प्राप्त नभएपछि उनले चोरीको मुद्दा दर्ता गराएकी थिइन्।
उनका अनुसार खानतलासीका क्रममा आफूले दाबी गरेका अधिकांश गरगहना भेटिएनन्। दुईवटा सुनका असर्फी, एउटा हिराको औंठी र एउटा चाँदीको कचौरा मात्र फेला परेको भन्दै उनले अझै करिब दुई करोड रुपैयाँ बराबरका गरगहना हराइरहेको दाबी गरेकी छन्। प्रहरी स्रोतका अनुसार घरभित्र ठूलो परिमाणमा चाँदीका धार्मिक सामग्री, मूर्ति तथा अन्य वस्तु पनि देखिएका थिए। तर ती सामान नियन्त्रणमा नलिई नगद रकमको मात्र मुचुल्का उठाएर प्रहरीले आफ्नो जिम्मा लगेको बताइएको छ। बरामद भारतीय मुद्राको स्रोत र वैधानिकताबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
रकमको स्रोत पुष्टि गर्ने तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ। घटनाबारे डा. सुरेशकुमार कनोडिया वा उनको परिवारका सदस्यले भने हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।
नेपाल राष्ट्र बैंककी उपप्रवक्ता तथा सूचना अधिकारी सुधा श्रेष्ठका अनुसार कानुनले भारतीय मुद्रा ओसारपसारको सीमा मात्र तोकेको छ, घरमा कति रकम राख्न पाइन्छ भन्ने विषयमा स्पष्ट कानुनी व्यवस्था छैन। ‘पैसा ओहोरदोहोर गर्न पाउने मात्र व्यवस्था छ,’ उनले भनिन्, ‘घरमा कतिसम्म राख्न पाइन्छ त्यो भने स्पष्ट कानुनी व्यवस्था छैन।’
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रतापसिंह राठौरले पनि प्रहरी अवैध भारतीय मुद्रा राखिएको सूचनाका आधारमा नभई बुहारीको उजुरीअनुसार खानतलासीमा गएको बताए। उनका अनुसार खानतलासीका क्रममा रकम भेटिएपछि ग्रेस रौनियारले त्यसमा आफ्नो पनि हकदाबी रहेको भन्दै बरामद गर्न आग्रह गरेपछि प्रहरीले रकम नियन्त्रणमा लिएको हो। उनले भारतीय मुद्रा घरमा कति परिमाणसम्म राख्न पाइने भन्ने विषयमा कानुन स्पष्ट नभएकाले कानुनी सल्लाह लिइरहेको र प्रचलित कानुनअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइने बताए।
‘हामी घरमा अवैध रुपैयाँ राखिएको भन्ने सूचनाका आधारमा वा त्यस्तो प्रकारको उजुरीका आधारमा गएका थिएनौं,’ उनले भने, ‘उनकी बुहारीको अर्को उजुरीका आधारमा पुगेका थियौं। तर, घर खानतलासी गर्दा त्यो पैसा भएको भन्दै उनले भने, ‘पैसा भेटिएपछि यो पैसामा मेरो पनि हकदाबी पुग्छ भन्दै प्रहरीलाई बरामद गर्न भनेपछि हामीले बरामद गरेका हौं।’ उनका अनुसार एउटा व्यक्तिले कति रुपैयाँसम्म भारतीय रुपैयाँ राख्न पाउने कानुनमा उल्लेख नभएकाले कानुनी सल्लाह भइरहेको बताए। ‘हामी कानुन सल्लाहकारसँग कानुनी सल्लाहमा छौं,’ उनले भने, ‘कानुनमा जे व्यवस्था छ त्यही गर्छौँ।’
