बदलिएको राजनीतिक परिस्थिति नयाँ शक्तिको उदय सम्भव हाेला त?

Spread the love

प्रदेशमा सर्वदलीय सरकार गठन, वाम शक्तिबीच सहकार्य तथा राजनीतिक स्थायित्वका विषयमा छलफल भएको जनाइएको छ। प्रचण्डले प्रदेशमा संविधान र गणतन्त्र पक्षधर शक्तिहरूबीच सहकार्यको प्रस्ताव राखेका थिए भने एमाले पक्षले पनि त्यसप्रति सकारात्मक संकेत दिएको बताइएको छ ।करिब २४ महिनादेखिको राजनीतिक दूरीपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि सहकार्यको सम्भावनाबारे छलफलमा जुटेका छन्। प्रदेश सरकारको बदलिँदो समीकरणबीच दुई नेताबीच भएको भेटले नेपाली राजनीतिमा नयाँ बहस सुरु गरेको छ।

यद्यपि अहिलेसम्म कुनै औपचारिक निर्णय नभएको दुवै पक्षको भनाइ छ। प्रचण्डले कांग्रेससँग पनि छलफल जारी रहेको बताएका छन् भने एमाले नेताहरूले वाम सहकार्यलाई प्रदेश सरकारमा मात्र सीमित नगरी दीर्घकालीन राजनीतिक सहकार्यतर्फ लैजानुपर्ने धारणा व्यक्त गरेका छन्।

ओली–प्रचण्डबीच यसअघि पनि पटक–पटक सत्ता सहकार्य, वाम गठबन्धन र पार्टी एकता भए पनि सत्ता संघर्षका कारण ती प्रयास लामो समय टिक्न सकेका थिएनन्। त्यसैले अहिलेको नयाँ संवादलाई लिएर राजनीतिक वृत्तमा आशा र संशय दुवै देखिएको छ।राजनीतिक विश्लेषकहरूका अनुसार बदलिएको राजनीतिक परिस्थिति, नयाँ शक्तिको उदय र कमजोर बनेका परम्परागत दलहरूको अवस्थाले ओली–प्रचण्डलाई पुनः सहकार्यको बाटो खोज्न बाध्य बनाएको देखिन्छ। अब यो संवाद केवल प्रदेश सरकारसम्म सीमित रहन्छ वा नयाँ वाम समीकरणको आधार बन्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ।