जनसहभागितामूलक अभियान लाई निरन्तरता दिइने-हर्क साम्पाङ

Spread the love

पत्रकार सम्मेलनमा अभियानकी कोषाध्यक्ष समिता राईले अभियानका लागि बैंकको क्यूआर प्रणालीमार्फत २ करोड ७ लाख १५०६ रुपैयाँ र नगद ४९ लाख ६५ हजार ५९५ रुपैयाँ संकलन भएको जानकारी दिइन्। यससँगै अभियानमा कुल २ करोड ५० लाख ३७ हजार १०१ रुपैयाँ संकलन भएको छ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) को नेतृत्वमा सञ्चालन गरिएको दार्चुलाको डुम्लिङ झोलुङ्गे पुल निर्माण अभियानको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।

निर्माण अभियानका क्रममा १ करोड २९ लाख २९ हजार १७४ रुपैयाँ खर्च भएको जनाइएको छ।खर्चमध्ये ५५ लाख १३ हजार ५२३ रुपैयाँ पुल निर्माण सामग्री, सर्वेक्षण, मेसिनरी तथा कार्यालय व्यवस्थापनमा खर्च भएको छ। पुल निर्माण सामग्री खरिदमै ४५ लाख २७ हजार ९३४ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।त्यस्तै ७४ लाख १५ हजार ६५१ रुपैयाँ ढुवानी, खाद्यान्न, शिविर व्यवस्थापन, निर्माण सामग्री ओसारपसार तथा अन्य व्यवस्थापनमा खर्च गरिएको अभियानले जनाएको छ।

हाल अभियानको बैंक खातामा १ करोड ४ लाख ४५ हजार ४५२ रुपैयाँ १ पैसा र नगद १६ लाख १५ हजार ९४१ रुपैयाँ रहेको छ। यसरी कुल १ करोड २० लाख ६१ हजार ३९३ रुपैयाँ १ पैसा मौज्दात रहेको आर्थिक विवरणमा उल्लेख गरिएको छ।अभियानका आयोजकहरूले यो परियोजना जनसहभागिता, स्वेच्छिक सहयोग र पूर्ण पारदर्शिताका आधारमा सञ्चालन गरिएको बताएका छन्। साथै नेपाल तथा विदेशबाट सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै जनसहभागितामूलक विकास अभियानलाई निरन्तरता दिइने बताएका छन्।