असर पार्ने देखिएमा त्यस्ता चलचित्रलाई प्रदर्शन अनुमति नदिने

Spread the love

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई पत्राचार गर्दै त्यस्ता चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति दिन नसकिने स्पष्ट पारेको हो।सरकारले नेपालको सुरक्षा, शान्ति तथा व्यवस्था र मित्रराष्ट्रसँगको सम्बन्धमा प्रतिकूल असर पार्ने विषयवस्तु भएका विदेशी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ।

मन्त्रालयले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८(३) कार्यान्वयन गर्न निर्देशन दिएको छ। उक्त व्यवस्थाअनुसार नेपालको सुरक्षा, शान्ति र व्यवस्था वा मित्रराष्ट्रसँगको सम्बन्धमा प्रतिकूल असर पार्ने देखिएमा त्यस्ता चलचित्रलाई प्रदर्शन अनुमति नदिने प्रावधान छ।मन्त्रालयले चलचित्र विकास बोर्डलाई ऐन तथा नियमावलीको पूर्ण पालना गर्न, निर्माता, वितरक तथा अन्य सरोकारवालालाई आवश्यक जानकारी गराउन र आवश्यक समन्वय गर्न पनि निर्देशन दिएको छ।

गतसाता भारतीय अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘अल्फा’ को विषयलाई लिएर विवाद भएको पृष्ठभूमिमा मन्त्रालयको यो निर्देशन आएको हो। यसअघि प्रदर्शनमा आएको ‘धुरन्धर’ चलचित्रको कथावस्तु पनि पाकिस्तानविरोधी रहेको भन्दै चर्चा भएको थियो।सरकारको यो निर्णयले विशेषगरी नेपालमा प्रदर्शन हुने विदेशी, विशेषतः भारतीय चलचित्रको प्रदर्शन प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।