प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सय दिनको कार्यप्रगति प्रस्तुत
सबिना प्रजा
सरकारका अनुसार १०० दिनको अवधिमा ६६६ जना बिचौलियालाई नियन्त्रणमा लिइएको छ। सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनका उपलब्धि सार्वजनिक गर्दै विभिन्न क्षेत्रमा भएका प्रगति विवरण सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सय दिनको कार्यप्रगति प्रस्तुत गरेका छन् । सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी दर्ता भएको र राष्ट्रिय सदाचार नीति–२०८३ जारी गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए।
सरकारले सहकारी क्षेत्र सुधारअन्तर्गत १० वटा सहकारीका १ हजार ७५४ साना बचतकर्तालाई २ करोड ६३ लाख ९० हजार रुपैयाँ फिर्ता गरिएको जनाएको छ।त्यस्तै, मल, औषधि तथा अत्यावश्यक औषधिको खरिद प्रक्रिया सहज बनाउन सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनसम्बन्धी विधेयक सङ्घीय संसदमा पेस गरिएको जानकारी पनि सरकारले दिएको छ।
प्रवक्ता पोखरेलका अनुसार सरकारले सङ्घीय मन्त्रालयको संख्या १८ मा सीमित गरेको छ भने १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ। मन्त्रालयको संख्या घटाइएकाले वार्षिक करिब २० अर्ब रुपैयाँ राज्यकोषमा बचत हुने अनुमान सरकारको छ।सरकारले सार्वजनिक गरेको १०० दिने प्रगति विवरणमा सुशासन, प्रशासनिक सुधार, सार्वजनिक खर्च कटौती तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न नीतिगत र संरचनागत सुधार अघि बढाइएको उल्लेख गरिएको छ।
