जरासम्म पुगेर नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्रिय हुन आग्रह

Spread the love

लागूऔषधको ओसारपसार ‘सप्लाई चेन’ नै तोड्ने गरी प्रभावकारी कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्।अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस (जुन २६) का अवसरमा विशेष सन्देश जारी गर्दै गृहमन्त्री सुधन गुरुङले लागूऔषध नियन्त्रणलाई औपचारिक कार्यक्रममै सीमित नराखी यसको जरासम्म पुगेर नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्रिय हुन आग्रह गरेका हुन्। उनले विभिन्न अध्ययन तथा प्रतिवेदनले नेपालमा लागूऔषधको ओसारपसार बढ्दो क्रममा रहेको देखाएको उल्लेख गर्दै यसलाई सामाजिक चुनौतीका रूपमा लिएर सरकारले ‘लागूऔषध अन्त्यको सुरुवात गर्ने अभियान’ सञ्चालन गर्ने नीति अवलम्बन गरेको बताएका छन्।

गृहमन्त्री गुरुङका अनुसार लागूऔषधले विशेषगरी विद्यार्थी र युवाको स्वास्थ्य तथा मानसिक विकासमा गम्भीर असर पुर्‍याइरहेको छ। उनले लागूऔषधको ओसारपसार र दुरुपयोग सामाजिक विकृतिमात्र नभई राष्ट्रिय सुरक्षा, आर्थिक क्षति तथा जनस्वास्थ्यसँग जोडिएको सीमा पारि हुने सङ्गठित अपराध भएको उल्लेख गरेका छन्। यस्ता आपराधिक सञ्जाल नियन्त्रणका लागि कानुनको कडाइका साथ कार्यान्वयन, आवश्यक कानुनी सुधार तथा सबै राज्य संयन्त्र परिचालन गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।गृहमन्त्रीले लागूऔषध दुर्व्यसनमुक्त समाज निर्माणका लागि रोकथाम, नियन्त्रण, उपचार र पुनःस्थापनालाई प्राथमिकतामा राखिएको बताउँदै स्थानीय समुदाय, तीनै तहका सरकार, विद्यालय, नागरिक समाज र सञ्चारमाध्यमलाई समेत साझा अभियानमा सहभागी हुन आह्वान गरेका छन्। ‘लागूऔषधको चुनौती समयमै चिनौँ : सामाजिक समाधानको बाटो खोजौँ’ भन्ने नारासहित उनले सुरक्षित समाज निर्माणका लागि सबै पक्षलाई नीतिगत स्पष्टता र प्रभावकारी कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन्।