उम्मेदवार चयन प्रक्रिया माथि प्रश्न प्रतिद्वन्द्वीलाई भोट नहालिकन अगाडि बढ्न नपाइने व्यवस्था
पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै रास्वपा पार्टीभित्रको मतदान प्रणाली र महाधिवेशन व्यवस्थापनमाथि आफ्नै प्रतिनिधिहरूले सार्वजनिक रूपमा असन्तुष्टि जनाउन थालेका छन्।महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरूले सामाजिक सञ्जालमार्फत डिजिटल मतदान प्रणाली, उम्मेदवार चयन प्रक्रिया र मतदानको बाध्यात्मक व्यवस्थामाथि प्रश्न उठाएका हुन्।रास्वपाका सांसद राजिव खत्री ले फेसबुकमा लेखेका छन्, “संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ। No Vote को धज्जी।” उनको यो अभिव्यक्तिलाई महाधिवेशनमा प्रयोग गरिएको मतदान प्रणालीप्रतिको असन्तुष्टिका रूपमा हेरिएको छ।
यस्तै, लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य (भौगोलिक) पदका उम्मेदवार सुबास शर्मा ले पनि आफ्नो अनुभव सार्वजनिक गरेका छन्। उनले डिजिटल भोटिङ मेसिनमा आफूले उम्मेदवारी दिएको पदमा प्रतिस्पर्धीलाई भोट नहालेसम्म अर्को चरणमा जान नसकिने व्यवस्था रहेको दाबी गरेका छन्।उनले फेसबुकमा लेखेका छन्, “डिजिटल विद्युतीय भोटिङ मेसिनमा आफ्नो प्रतिद्वन्द्वीलाई भोट नहालिकन अगाडि बढ्न नपाइने व्यवस्था थियो। आफ्नो उम्मेदवारी दिएको पदमा आफ्नै प्रतिस्पर्धीलाई मत हाल्न बाध्य बनाइयो। यस्तो नियम कहाँको हो?”शर्माले समावेशी, महिला र दलित क्लस्टरसँग सम्बन्धित मतदान प्रक्रियामाथि समेत प्रश्न उठाउँदै महाधिवेशनको व्यवस्थापनबारे गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
यसअघि पनि महाधिवेशनमा प्रतिनिधिहरूले लामो लाइन, अत्यधिक गर्मी, मतदान प्रक्रिया ढिलाइ, होटल खर्च र व्यवस्थापन कमजोरीको आलोचना गरेका थिए। अब मतदान सम्पन्न भएपछि आफ्नै उम्मेदवार र निर्वाचित सांसदबाट सार्वजनिक रूपमा आएका टिप्पणीले महाधिवेशनको निष्पक्षता र व्यवस्थापनबारे थप बहस सुरु भएको छ।यद्यपि, रास्वपाले यी दाबीबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। सामाजिक सञ्जालमा उठाइएका यी गुनासाहरूबारे निर्वाचन समितिले स्पष्टिकरण दिने अपेक्षा गरिएको छ।
