तपाईंहरू जुन ठाउँमा उभिनु भएको छ त्यहाँ सहिदहरूको रगत मिसिएको छ त्यो इतिहास बिर्सन मिल्दैन – गगन थापा

Spread the love

सबिना प्रजा

नेपाली कांग्रेस सभापति गगन थापाले ऐतिहासिक सन्दर्भ जोड्दै रास्वपालाई गम्भीर सन्देश दिएका छन्।थापाले २०१८ सालमा भरतपुरमा भएको दमन र सहिदहरूको बलिदान स्मरण गर्दै भने, “तपाईंहरू जुन ठाउँमा उभिनु भएको छ, त्यहाँ सहिदहरूको रगत मिसिएको छ, त्यो इतिहास बिर्सन मिल्दैन।”उनले रास्वपाको ‘नीलो झण्डा’ फहराइरहेको स्थानमुनि सहिदहरूको ‘रातो रगत’ रहेको उल्लेख गर्दै लोकतन्त्रको मूल्य र बलिदानलाई सम्मान गर्नुपर्ने बताए।

थापाले रास्वपाभित्र नेतृत्वलाई ‘भगवान’ नबनाउन चेतावनी दिँदै आफ्नै पार्टीका गल्तीबाट पाठ सिक्नुपर्ने सुझाव दिए। “गल्ती हुँदा आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुपर्छ,” उनको भनाइ थियो।उनले रास्वपाको उदयलाई स्वागत गर्दै यसको सफलता लोकतन्त्रका लागि महत्वपूर्ण भएको बताए पनि शक्ति, जनमत र जिम्मेवारीको सन्तुलन नबिग्रिनुपर्नेमा जोड दिए।

थापाले अन्त्यमा रास्वपालाई शुभकामना दिँदै भने, “प्रतिस्पर्धा हुनेछ तर दुश्मनी होइन, हामी तपाईंहरूभन्दा अग्लो बन्न चाहन्छौं, तर खुट्टा काटेर होइन।”