आधुनिक सूचना प्रविधिको प्रभावकारी प्रयोगबिना राजनीतिक संगठन बलियो बनाउन कठिन -संयोजक पुष्प कमल दाहाल

Spread the love

सबिना प्रजा

पार्टीलाई नयाँ ढंगले सुदृढ र विस्तार गर्न विशाल ‘आईटी आर्मी’ निर्माण आवश्यक रहेको कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले अबको राजनीतिक प्रतिस्पर्धा र वैचारिक संघर्ष डिजिटल मोर्चामा केन्द्रित हुने बताएका छन्। पार्टीलाई नयाँ ढंगले सुदृढ र विस्तार गर्न विशाल ‘आईटी आर्मी’ निर्माण आवश्यक रहेको उनको भनाइ छ। पार्टी केन्द्रीय कार्यालयबाट सदस्यता नवीकरणको डिजिटल अभियान सुरु गर्दै प्रचण्डले आधुनिक सूचना प्रविधिको प्रभावकारी प्रयोगबिना राजनीतिक संगठन बलियो बनाउन कठिन हुने बताए।पछिल्लो प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै उनले पार्टी भौतिक उपस्थिति, सभा–समारोह र प्रशिक्षणमा बढी केन्द्रित भएको तर सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को उपयोगमा अपेक्षाकृत कमजोर रहेको स्वीकार गरे।”हामी अलि बढी फिजिकल उपस्थिति र प्रशिक्षणतिर केन्द्रित भयौँ, तर आईसीटी र डिजिटल प्लेटफर्मको प्रयोगमा हाम्रो ध्यान कम गयो। यो हाम्रो महत्त्वपूर्ण समीक्षा हो,” उनले भने।

प्रचण्डले प्रविधिको माध्यमबाट भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्न संगठित डिजिटल संरचना आवश्यक भएको बताए। “एउटा आईटी सेना, एउटा विशाल फौज हामीले तयार गर्न सकिन्छ र तयार गर्नुपर्ने नै भयो,” उनले भने।उनले जनयुद्धकालीन ‘जनसेना’को उदाहरण दिँदै अहिलेको आवश्यकता डिजिटल क्षेत्रमा सक्रिय कार्यकर्ताको फौज रहेको उल्लेख गरे। “हिजो जनयुद्धको बेला हामीले जनसेना भन्थ्यौँ। आज पार्टीलाई सुदृढ गर्न र नयाँ चुनौतीसँग जुध्न विशाल आईटी आर्मी चाहिएको छ,” उनको भनाइ थियो।

प्रचण्डले पार्टीका लाखौं सदस्यमध्ये कम्तीमा दुईदेखि तीन लाख सदस्यलाई सूचना प्रविधिको प्रयोगमा सक्रिय बनाउन सके ठूलो उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे। यसका लागि देशभरका कार्यकर्तालाई मोबाइल एप तथा अन्य डिजिटल माध्यम प्रयोगसम्बन्धी आधारभूत तालिम दिने तयारी भइरहेको उनले जानकारी दिए।पार्टी अब नयाँ सोच र आधुनिक कार्यशैलीसहित अघि बढ्ने बताउँदै उनले पुरानो शैलीले मात्र सफलता नदिलाउने निष्कर्ष सुनाए। “पुरानो कार्यशैलीले हामीलाई हराउँछ मात्रै, जिताउँदैन। त्यसैले आधुनिक प्रविधिको प्रयोग गरेर जनतासँग जोडिनु हाम्रो प्राथमिकता हुनुपर्छ,” उनले भने।प्रचण्डले सम्पूर्ण पार्टी पंक्तिलाई प्रविधिमैत्री बन्न, डिजिटल माध्यममा सक्रिय हुन र निराशाभन्दा सकारात्मक अभियानमा केन्द्रित हुन पनि आह्वान गरेका छन्।