कृष्णबहादुर महरा द्वारा पार्टी परित्याग
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन्। करिब ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका महराले स्वास्थ्य समस्याका कारण पार्टीका सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्।
बिहीबार जारी विज्ञप्तिमार्फत उनले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने जानकारी दिएका छन्। आफ्नो निर्णय पार्टीप्रति कुनै असन्तुष्टि वा वितृष्णाका कारण नभई स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यता भएको स्पष्ट पारे।”पार्टी छाडेको होइन, सक्रिय जिम्मेवारीबाट अलग भएको हुँ। पार्टीप्रति कुनै वितृष्णा भएर होइन,” महराले बताएका छन्।महरा हाल ‘एट्रोफी’ सम्बन्धी नसा तथा मांसपेशीको समस्याबाट पीडित छन्। नियमित उपचार, थेरापी र औषधि सेवनका बाबजुद स्वास्थ्यमा अपेक्षित सुधार नआएकाले विगतझैँ सक्रिय, प्रभावकारी र जिम्मेवार रूपमा पार्टी गतिविधिमा योगदान गर्न कठिन भएको उनले उल्लेख गरेका छन्।
विज्ञप्तिमा उनले लेखेका छन्, “स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेन। परिणामस्वरूप पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतजस्तै सक्रिय र प्रभावकारी रूपमा योगदान गर्न कठिन हुँदै गएको छ।”महराले आफ्नो निर्णय कुनै राजनीतिक असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई विशुद्ध स्वास्थ्य अवस्थाको परिणाम भएको दोहोर्याएका छन्। साथै उनले आफ्नो लामो राजनीतिक यात्रामा साथ दिने पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, जनसमुदाय तथा परिवारप्रति आभार व्यक्त गरेका छन्।
नेकपाको चौथो महाधिवेशनदेखि माओवादी आन्दोलनका विभिन्न चरणहरूमा आफूले सक्दो योगदान दिएको स्मरण गर्दै महराले अब नयाँ पुस्ताका ऊर्जावान् युवाहरूले देशलाई समृद्ध, आत्मनिर्भर र अग्रगामी दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन्।उनको यो निर्णयसँगै नेपाली कम्युनिस्ट आन्दोलनका एक अनुभवी नेताको सक्रिय राजनीतिक यात्रा औपचारिक रूपमा विश्राममा पुगेको छ।
