किर्ते, ठगी संगठित अपराध र राज्यविरुद्धको अपराध गरी चारवटा कसुरमा अभियोग बहुचर्चित शरणार्थी प्रकरण अब निर्णायक चरणतर्फ
जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले बुधबारबाट मुद्दाको नियमित सुनुवाइ सुरु गरेको हो।अदालतका अनुसार बुधबारको इजलासमा केही प्रतिवादीका तर्फबाट बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले तीन वर्षदेखि विचाराधीन रहेको मुद्दा अब निरन्तर सुनुवाइमा प्रवेश गरेको र सुनुवाइपछि हेर्दाहेर्दैमा राखिएको जानकारी दिए।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध २०८० जेठ १० गते मुद्दा दायर गरिएको थियो।उनीहरूमाथि किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराध गरी चारवटा कसुरमा अभियोग लगाइएको छ। यस प्रकरणसँग सम्बन्धित थप दुईवटा पूरक मुद्दासमेत दायर भएकाले तीनवटै मुद्दालाई एकसाथ राखेर सुनुवाइ अघि बढाइएको अदालतले जनाएको छ।मुद्दा दायर भएयता थुनछेक बहस, आदेश तथा विभिन्न प्रक्रियासहित हालसम्म ७४ पटक पेसी चढिसकेको थियो। तर, नियमित सुनुवाइ भने हुन सकेको थिएन। पछिल्लो समय अदालत तथा सरकारी वकिल कार्यालयका केही दस्ताबेज नष्ट भएका कारण पनि सुनुवाइ प्रभावित भएको थियो। आवश्यक मिसिल पुनः संकलन भएपछि अब मुद्दा टुंगो लगाउने दिशामा अदालत अघि बढेको छ।
अनुसन्धानका क्रममा राज्य संयन्त्रभित्रै पहुँच भएका व्यक्तिहरूको मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा समावेश गरी अमेरिका पठाउने योजना बनाइएको खुलेको थियो। झापादेखि कञ्चनपुरसम्मका युवाबाट ठूलो रकम असुली गरिएको आरोप छ।प्रहरी अनुसन्धान र अभियोजनअनुसार शरणार्थी व्यवस्थापनका नाममा तयार गरिएको सरकारी प्रतिवेदनमा हेरफेर गरी नक्कली सूची तयार पारिएको थियो। त्यसका आधारमा सयौँ नेपाली नागरिकलाई शरणार्थी देखाएर तेस्रो मुलुक पठाउने प्रयास भएको दाबी गरिएको छ।यस प्रकरणमा पूर्वमन्त्री, पूर्वसांसद, उच्चपदस्थ कर्मचारी, राजनीतिक सल्लाहकारदेखि बिचौलियासम्मको संलग्नता रहेको आरोप छ। केही प्रतिवादी धरौटीमा छुटिसकेका छन् भने मुख्य आरोपितमध्ये केही अझै कारागारमा रहेका छन्। अदालतमा सुरु भएको निरन्तर सुनुवाइसँगै बहुचर्चित शरणार्थी प्रकरण अब निर्णायक चरणतर्फ अघि बढेको छ।
