हर्क साम्पाङले सभामुख डीपी अर्यालमाथि भेदभाव गरेको आरोप लगाउँदै आपत्ति
श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका छन्। पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सभामुख डीपी अर्यालमाथि भेदभाव गरेको आरोप लगाउँदै आपत्ति जनाएका हुन्।बैठकका क्रममा श्रम संस्कृति पार्टीका सांसदहरूले सुरुवातमा आफ्नै स्थानबाट उठेर विरोध जनाएका थिए। त्यसपछि उनीहरूले सभामुखसँग बोल्न समय मागेका थिए।
हर्क साम्पाङले सबै राजनीतिक दलका सांसदहरूलाई बोल्न समय दिइएको अवस्थामा आफ्नो पार्टीलाई किन अवसर नदिइएको भन्दै सभामुखसँग प्रश्न गरेका थिए। उनले संसद्मा सबै दललाई समान व्यवहार हुनुपर्ने धारणा राखेका थिए।जवाफमा सभामुख अर्यालले श्रम संस्कृति पार्टीका तर्फबाट बोल्न चाहने सांसदको नाम टिपोट नभएकाले समय उपलब्ध गराउन नसकिएको बताएका थिए। साथै, अध्यक्ष साम्पाङले प्रयोग गरेका केही शब्द गम्भीर, मर्यादाविपरीत तथा अपमानजनक रहेको टिप्पणी पनि गरेका थिए।सभामुखले भने, “तपाईंहरूले मन्त्रीले बोल्दा पनि निरन्तर विरोध गरिरहनुभएको थियो, त्यसैले म तपाईंहरूलाई बोल्न समय दिन सक्दिनँ।”
सभामुखले नियमित कार्यसूची अगाडि बढाउन थालेपछि श्रम संस्कृति पार्टीका सांसदहरू रोष्ट्रम अगाडि पुगेका थिए। उनीहरूले सभामुखले आफूहरूमाथि भेदभाव गरेको आरोप लगाउँदै नाराबाजी गरेका थिए।
वेल घेराउका क्रममा सांसदहरूले सभामुखविरुद्ध ‘मुर्दावाद’ का नारा समेत लगाएका थिए। केही समय संसद्मा तनावपूर्ण अवस्था सिर्जना भए पनि सभामुखले बैठकको कार्यवाहीलाई निरन्तरता दिएका थिए।श्रम संस्कृति पार्टीले संसद्मा आफ्नो आवाज दबाउने प्रयास भएको आरोप लगाएको छ भने सभामुख पक्षले संसदीय प्रक्रिया र मर्यादाअनुसार नै बैठक सञ्चालन गरिएको जनाएको छ। संसद्मा पछिल्ला दिनहरूमा समय व्यवस्थापन, अभिव्यक्तिको अवसर र संसदीय मर्यादालाई लिएर विवाद बढ्दै गएको देखिएको छ।
