पारिवारिक विवाद र प्रेम सम्बन्धलाई लिएर भएको झगडापछि वृद्धको मृत्यु

Spread the love

सबिना प्रजा

६२ वर्षीय पुरुषको हत्या प्रकरणमा उनकी २६ वर्षीया श्रीमती र उनका ३८ वर्षीय प्रेमीसहित तीन जना बाग्लुङ्गमा पक्राउ परेका छन्। प्रहरीका अनुसार पारिवारिक विवाद र प्रेम सम्बन्धलाई लिएर भएको झगडापछि ढुंगा प्रहार गर्दा वृद्धको मृत्यु भएको हो।मृतक लमजुङको क्वहोलासोथार गाउँपालिका–९ निवासी देउबहादुर सार्की हुन्। घटनामा संलग्न भएको आरोपमा तनहुँको म्याग्दे गाउँपालिका–७ निवासी लक्ष्मी नेपाली, उनका प्रेमी राम आकाश विश्वकर्मा तथा आसपुरे कामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख एसपी फणीन्द्र प्रसाईका अनुसार देउबहादुर, लक्ष्मी र राम आकाश एकै निर्माण स्थलमा काम गर्थे। सोही क्रममा लक्ष्मी र राम आकाशबीच निकटता बढेको थियो। यस विषयलाई लिएर देउबहादुरले पटक–पटक असन्तुष्टि जनाउँदै आएका थिए।

गत सोमबार काममा जाने क्रममा उनीहरू बाटोमा रहेको एक प्रतीक्षालयमा विश्राम गरिरहेका थिए। त्यही बेला देउबहादुरले लक्ष्मीलाई राम आकाशतर्फ संकेत गर्दै गाली गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसपछि विवाद चर्किएको र राम आकाशले देउबहादुरमाथि मुक्का प्रहार गरेका थिए।प्रहरीका अनुसार त्यसलगत्तै लक्ष्मीले ढुंगा प्रहार गरिन् भने आसपुरे कामीले पनि आक्रमणमा साथ दिएका थिए। ढुंगा प्रहारबाट गम्भीर घाइते भएका देउबहादुर अचेत बनेका थिए।

घटनापछि तीनै जना त्यहाँबाट भाग्ने प्रयासमा रहेको अवस्थामा प्रहरीले शंकास्पद गतिविधि देखेपछि चेकपोस्टमा रोकेको थियो। जाँचका क्रममा उनीहरूको कपडामा रगत भेटिएपछि नियन्त्रणमा लिइएको थियो।प्रारम्भिक अनुसन्धानमा उनीहरूले झगडाका क्रममा ढुंगा प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। साथै लक्ष्मीले यसअघि पनि दुई जनासँग विवाह गरेको र ती सम्बन्धबाट सन्तानसमेत रहेको तथ्य खुलेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।