राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने भ्रम फैलिएमा त्यसप्रति ध्यानाकर्षण
सबिना प्रजा
सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने भ्रम फैलिएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै बचतकर्तालाई फिर्ता गरिएको रकम समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम भएको स्पष्ट पारेको हो।समितिका अनुसार समस्याग्रस्त घोषित २० सहकारी संस्थाका १० हजार रुपैयाँभन्दा कम बचत मागदाबी भएका साना बचतकर्ताहरूलाई चरणबद्ध रूपमा रकम फिर्ता गर्ने काम भइरहेको छ।
समितिले हालसम्म ‘चक्रीय कोष’ स्थापना भई सञ्चालनमा नआएको पनि स्पष्ट पारेको छ। तथापि, प्रचलित कानुनी व्यवस्था अनुसार समस्याग्रस्त सहकारीबाट असुल गरिएको रकम सम्बन्धित बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको जनाएको छ।विज्ञप्तिमा राज्यकोषबाट रकम वितरण गरिएको भन्ने सार्वजनिक गुनासो तथा भ्रम गलत रहेको उल्लेख गरिएको छ।सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ समेत जारी गरिसकेको जनाएको छ।
