दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा दुई गम्भीर कसुरमा मुद्दा दर्ता
सबिना प्रजा
बिवादित मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा दुई गम्भीर कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले सोमबार प्रसाईंविरुद्ध विद्युतीय कारोबार तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको हो। जिल्ला न्यायाधिवक्ता मनोज प्रसाद गुप्ताका अनुसार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा दिएका अभिव्यक्तिका आधारमा उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो।पर्सा प्रहरीले प्रसाईंलाई गत ४ जेठमा पक्राउ गरेको थियो। पक्राउपछि उनीमाथि अनुसन्धान जारी राख्दै पटक–पटक म्याद थप गरिएको थियो। हालसम्म उनी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका छन्।
मुद्दा दर्ता भएसँगै सोमबार उनलाई जिल्ला अदालत पर्सामा उपस्थित गराइएको न्यायाधिवक्ता गुप्ताले जानकारी दिए।दुर्गा प्रसाईं पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक अभिव्यक्तिका कारण निरन्तर विवादमा रहँदै आएका छन्। उनी नेतृत्वको अभियानले राजसंस्था, धर्म र राष्ट्रवादको पक्षमा विभिन्न कार्यक्रम गर्दै आएको छ। तर सामाजिक सञ्जालमार्फत दिएका केही अभिव्यक्तिलाई लिएर उनीमाथि कानुनी कारबाही अघि बढाइएको हो।
