औषधिको मौज्दात आपूर्ति र वितरण दैनिक विवरण अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन

Spread the love

सबिना प्रजा

क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका अत्यावश्यक औषधि र सलाइनको अभाव हुन सक्ने जोखिम देखिएपछि औषधि व्यवस्था विभागले कडाइ गरेको छ।विभागले सम्बन्धित उत्पादक, आयातकर्ता तथा अस्पताललाई अबदेखि औषधिको मौज्दात, आपूर्ति र वितरण अवस्थाको दैनिक विवरण अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ। प्रत्येक दिन बिहान १० देखि ११ बजेसम्म विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

बजारमा जीवनरक्षक औषधिको आपूर्तिमा समस्या देखिन थालेपछि विभागले निरन्तर अनुगमन र समन्वयमार्फत औषधि अभाव हुन नदिन विशेष कदम चालिएको जनाएको छ।सूचनाअनुसार औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्य र नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ।स्वास्थ्य क्षेत्रमा अत्यावश्यक औषधिको आपूर्ति सुनिश्चित गर्न सरकार अब आपतकालीन निगरानी प्रणाली जस्तै दैनिक रिपोर्टिङ मोडेलमा प्रवेश गरेको छ।