चिनले नेपाललाई बलियो, स्थिर र गतिशील राष्ट्रका रूपमा अघि बढाउने दिशामा केन्द्रित रहेको भनाई-परराष्ट्रमन्त्री शिशिर

Spread the love

सबिना प्रजा

परराष्ट्रमन्त्री शिशिर खनालले बालेन शाह नेतृत्वको नयाँ सरकारका प्राथमिकताबारे चीनले विशेष चासो देखाएको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा उनले नेपाल र चीनबीच निरन्तर संवाद भइरहेको जानकारी दिएका हुन्।मन्त्री खनालका अनुसार उत्तरी छिमेकी चीनले नयाँ सरकार बनेपछि नेपालले कुन–कुन विषयलाई प्राथमिकतामा राखेको छ भन्नेबारे विशेष चासो व्यक्त गरेको छ।

उनले भने, “उत्तरी छिमेकीसँग पनि निरन्तर सम्पर्क र संवादमा हामी छौं। हाम्रो आफ्नै प्राथमिकताका विषयमा उहाँहरूले चासो राख्नु भएको छ। नयाँ सरकार बनिसकेपछि कस्ता विषय प्राथमिकतामा छन् भन्ने उहाँहरूको बढी चासो देखिएको छ।”रास्वपाको नेतृत्वमा बनेको वर्तमान सरकार दुई तिहाइ बहुमत नजिक पुगेको अवस्थामा चीनले सरकारको नीति, प्राथमिकता र भावी रणनीतिबारे चासो राखेको बताइएको छ।

परराष्ट्रमन्त्री खनालले सरकार नेपाललाई बलियो, स्थिर र गतिशील राष्ट्रका रूपमा अघि बढाउने दिशामा केन्द्रित रहेको पनि स्पष्ट पारे। उनका अनुसार भूराजनीतिक जटिलताका बाबजुद नेपालले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित र प्रभावकारी बनाउने प्रयास जारी राखेको छ।उनले परराष्ट्र मन्त्रालयले स्थानीय तहका साना प्रशासनिक दस्तावेजदेखि संयुक्त राष्ट्रसंघमा नेपालको उपस्थितिसम्मका विषयमा गम्भीरतापूर्वक काम गरिरहेको उल्लेख गरे।मन्त्री खनालले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र क्षेत्रीय शक्तिहरूबीचको प्रतिस्पर्धाका बीच नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध अघि बढाइरहेको बताए।