Wednesday, May 20, 2026

पाकिस्तानले सउदी अरबमा करिब ८ हजार सैनिक तैनाथ जेएफ–१७ लडाकु विमान, ड्रोन स्क्वाड्रन तथा वायु रक्षा प्रणालीसमेत सउदी भूमिमा परिचालन

Spread the love

तेहरान र रियादबीच बढ्दो तनावका बीच पाकिस्तानले सउदी अरबमा ठूलो सैन्य उपस्थिति बढाएको दाबी सार्वजनिक भएको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले उद्धृत गरेका पाकिस्तानी सुरक्षा तथा सरकारी अधिकारीहरूको भनाइअनुसार पाकिस्तानले सउदी अरबमा करिब ८ हजार सैनिक तैनाथ गरेको छ।रिपोर्टअनुसार पाकिस्तानले सैनिकसँगै जेएफ–१७ लडाकु विमान, ड्रोन स्क्वाड्रन तथा वायु रक्षा प्रणालीसमेत सउदी भूमिमा परिचालन गरेको बताइएको छ। ती सैन्य उपकरणको सञ्चालन प्रत्यक्ष रूपमा पाकिस्तानी सेनाले गरिरहेको र त्यसको सम्पूर्ण खर्च सउदी अरबले व्यहोरेको दाबी गरिएको छ।

मध्यपूर्व क्षेत्रमा इरानसँगको सम्भावित तनाव र सुरक्षा चुनौती बढिरहेका बेला सउदी अरबले आफ्नो हवाई सुरक्षा तथा सीमाक्षेत्रलाई थप मजबुत बनाउन पाकिस्तानको सहयोग लिएको विश्लेषण गरिएको छ। विशेषगरी खाडी क्षेत्रमा बढ्दो अस्थिरताले सउदीलाई थप सतर्क बनाएको अन्तरराष्ट्रिय सुरक्षा विश्लेषकहरूको भनाइ छ।यद्यपि पाकिस्तान र सउदी अरब दुवैले सैनिक संख्या, तैनाथ गरिएको सैन्य उपकरण तथा सम्झौताबारे आधिकारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्। त्यसैले अहिले सार्वजनिक भइरहेका विवरणहरूलाई अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूले उद्धृत गरेका अनाम अधिकारीहरूको दाबीका रूपमा हेरिएको छ।क्षेत्रीय तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप संवेदनशील बन्दै गइरहेका बेला पाकिस्तान–सउदी सैन्य सहकार्यसम्बन्धी यी रिपोर्टहरूले अन्तरराष्ट्रिय चासो बढाएको छ।