Wednesday, May 20, 2026

डा मनोजकुमार शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत रूपमा अनुमोदन

Spread the love

सबिना प्रजा

संसदीय सुनुवाइ समितिले डा. मनोजकुमार शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । मंगलबार बसेको समिति बैठकले संसदीय सुनुवाइ प्रक्रिया पूरा गर्दै शर्मालाई प्रधानन्यायाधीशका लागि अनुमोदन गरेको हो ।समितिका सभापति बोधराज श्रेष्ठका अनुसार संसदीय सुनुवाइ समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो ।

यसअघि वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । अब राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सर्वोच्च अदालतको नेतृत्व सम्हाल्नेछन् ।प्रधानन्यायाधीशका रूपमा शर्माको कार्यकाल ६ वर्ष रहनेछ । उनी २०८९ वैशाखसम्म सर्वोच्च अदालतको नेतृत्वमा रहनेछन् ।२०७६ वैशाख ६ गते सर्वोच्च अदालतमा प्रवेश गरेका शर्माको जन्म २०२७ असार ४ गते पर्साको वीरगञ्जमा भएको हो । उनले नेपाल ल क्याम्पसबाट बीएल, भारतको पुणे विश्वविद्यालयबाट एलएलएम तथा त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका छन् ।कानुन व्यवसायी पृष्ठभूमिका शर्मा विभिन्न संस्था तथा कम्पनीका कानुनी सल्लाहकारका रूपमा समेत कार्यरत थिए । उनी २०७० जेठ २७ देखि २०७२ मंसिर २६ सम्म उच्च अदालतका अतिरिक्त न्यायाधीश पनि भएका थिए ।

उनको कार्यकालमा सर्वोच्च अदालतका ११ जना न्यायाधीश अवकाश हुनेछन् । बदलिँदो न्यायिक परिवेशमा न्यायालयभित्र देखिएका विकृति हटाउने, न्यायिक विश्वास कायम गर्ने तथा वरिष्ठ न्यायाधीशहरूसँग समन्वयात्मक वातावरण निर्माण गर्ने चुनौती शर्मा सामु रहने विश्लेषण गरिएको छ ।