५८ लाख रुपैयाँ बराबरको अवैध सामानसहित ट्रक प्रक्राउ

Spread the love

सबिना प्रजा

जिल्ला प्रहरी कार्यालय नवलपुर अन्तर्गतको प्रहरी टोलीले देवचुली नगरपालिका–१६ रजहरबाट करिब ५८ लाख रुपैयाँ बराबरको अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब ९ः३० बजे सवारी साधन चेकजाँचका क्रममा बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्र.०३०३–००१ ख ३८२६ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा बिना बिल भरपाइका विभिन्न सामग्री फेला परेको हो ।

उक्त ट्रक भक्तपुर सूर्यविनायक नगरपालिका–८ निवासी ३० वर्षीय सजेन्द्र मचामसीले चलाइरहेका थिए । प्रहरीले चालकसहित ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । बरामद सामानको अनुमानित मूल्य १८ लाख १५ हजार ३ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । साथै ट्रकको अनुमानित मूल्य ४० लाख रुपैयाँ गरी कुल ५८ लाख १५ हजार ३ सय रुपैयाँ बराबरको सामान तथा सवारी साधन नियन्त्रणमा लिइएको हो । प्रहरीले ट्रकबाट एयरपड्स प्रो लेखिएका ७ सय थान एयरबड, विभिन्न कम्पनीका १ हजार ६८० प्याकेट मोबाइल ग्लास, ‘सिरिज ९’ र ‘अल्ट्रा ९१’ लेखिएका २०५ थान स्मार्टवाच, ६८ सेट टू–वे रेडियो (हेन्डसेट), ६५ जोर नाइके लेखिएका जुत्ता, ३७४ जोर चप्पल तथा ७ हजार थान वाटरप्रुफ मोबाइल पाउच बरामद गरेको जनाएको छ ।