विश्वासिलो जुत्ता ब्रान्डमध्ये बजारमा करिब १५ प्रतिशत हिस्सा ओगटेको- गोल्डस्टार
सबिना प्रजा
एक समय थियो, जब नेपाली जुत्ता ब्रान्ड ‘गोल्डस्टार’ लाई गलत रूपमा माओवादीसँग जोडेर हेरिन्थ्यो । सशस्त्र द्वन्द्वकालमा सस्तो, बलियो र दुर्गम क्षेत्रमा सहज उपलब्ध हुने भएकाले धेरै माओवादी लडाकुले यही जुत्ता प्रयोग गरेपछि गोल्डस्टारमाथि नै शंका गरिन थालिएको थियो ।
त्यतिबेला कतिपय स्थानमा गोल्डस्टार लगाएकै कारण सर्वसाधारणसमेत सुरक्षाकर्मीको निगरानीमा पर्ने अवस्था बनेको थियो । तर विवाद र गलत आरोपबीच पनि कम्पनीले उत्पादन रोकिएन । बरु हजारौँ नेपाली श्रमिकलाई रोजगारी दिँदै गुणस्तरीय र किफायती जुत्ता उत्पादनलाई निरन्तरता दियो ।समयसँगै गोल्डस्टारले आफ्नो पहिचान फेरि मजबुत बनायो । सस्तो मूल्य, टिकाउ गुणस्तर र नेपाली बजारको विश्वास जित्दै यो ब्रान्ड फेरि जनताको रोजाइमा फर्कियो ।
आज गोल्डस्टार नेपालकै सबैभन्दा विश्वासिलो जुत्ता ब्रान्डमध्ये एक बनेको छ । नेपाली बजारमा करिब १५ प्रतिशत हिस्सा ओगटेको गोल्डस्टार अहिले “नेपालीको आफ्नै ब्रान्ड” का रूपमा स्थापित भएको छ ।
