सुकुम्बासि र गरिबको भोटबाट सत्तामा पुगेकाहरूले नै गरिबलाई विस्थापित गर्न खोजे- खगेन्द्र पाैडेल
सबिना प्रजा
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले सार्वजनिक जग्गा संरक्षणको नाममा भइरहेको डोजर अभियानको विरोध गर्दै बुटवलमा आइतबार ठूलो प्रदर्शन गरेका छन्। वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरूमा वैकल्पिक व्यवस्था नगरी हटाउने प्रयास भएको भन्दै उनीहरूले सरकारको कदमको विरोध गरेका हुन्।राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोकमा पुगेर सभामा परिणत भयो। सहभागीहरूले गाँस, बास र कपासको सुनिश्चितता गर्न, जबर्जस्ती हटाउने अभियान बन्द गर्न तथा सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्न माग गरे।
रूपन्देही संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले भूमिहीन नागरिकलाई आश्वासन मात्र दिइएको, तर समाधान नदिइएको बताए। उनले सरकारको पछिल्लो कदमले लाखौँ नागरिकलाई असुरक्षाको अवस्थामा धकेलेको आरोप लगाए।
संघर्ष समितिका सल्लाहकार वीरेन्द्र विकले भूमिहीनहरूको मतबाट बनेको सरकारले उल्टै गरिबमाथि डोजर चलाउन खोजेको बताए। सुकुम्बासीको समस्यालाई बेवास्ता गरिए देशव्यापी आन्दोलन चर्किने चेतावनी उनले दिए।बागमती प्रदेश प्रतिनिधि लिजा राईले गरिबको भोटबाट सत्तामा पुगेकाहरूले नै गरिबलाई विस्थापित गर्न खोजेको आरोप लगाइन्। कोशी प्रदेश प्रतिनिधि सुदीप राईले लालपुर्जा वितरणमा ढिलाइ भएकै कारण समस्या जटिल बनेको बताए।
संघर्ष समितिले ४ जेठमा बुटवलमा राष्ट्रिय सम्मेलन आयोजना गरी सातै प्रदेशका प्रतिनिधिहरूसहित राष्ट्रिय संघर्ष समिति गठन गर्ने र सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको जनाएको छ।
२०७६ सालको भूमिसम्बन्धी ऐन कार्यान्वयन गरेर वास्तविक भूमिहीनलाई बसोबास गरिरहेको स्थानमै जग्गा उपलब्ध गराउनुपर्ने माग पनि समितिले दोहोर्याएको छ।रुपन्देहीमा मात्रै करिब ८० हजार घरपरिवार यस्तो समस्याबाट प्रभावित छन्। बुटवलमा मात्र झण्डै २० हजार परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासीका रूपमा रहेको तथ्यांक सार्वजनिक गरिएको छ।
