बार काउन्सिलले जारी गरेको परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश गर्न दिने व्यवस्था पुनः लागू
कानुन व्यवसायीलाई नेपाल बार एसोसिएसन र बार काउन्सिलले जारी गरेको परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश गर्न दिने व्यवस्था पुनः लागू गरिएको छ। यससँगै सरकारले यसअघिको कडाइपूर्ण निर्णयबाट पछि हटेको छ।सिंहदरबार प्रवेशमा कडाइ गरिएपछि नेपाल बार एसोसिएसनले प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र लेख्दै ध्यानाकर्षण गराएको थियो। त्यसपछि सुरक्षा निकायमार्फत पुरानै व्यवस्था अनुसार निर्वाध प्रवेश दिने निर्णय भएको जानकारी दिइएको हो।
नेपाल बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार प्रहरी प्रमुखबाट कानुन व्यवसायीलाई परिचयपत्रकै आधारमा सहज प्रवेश दिने जानकारी प्राप्त भएको छ।यसअघि सरकारले कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशका लागि छुट्टै पास अनिवार्य गरेको थियो, जसका कारण वकिलहरूलाई प्रवेशमा समस्या भएको थियो। उक्त निर्णयको विरोधपछि अहिले पुरानै व्यवस्था पुनः कायम गरिएको हो।
यो निर्णयसँगै कानुन व्यवसायीहरूको असन्तुष्टि केही हदसम्म समाधान भएको देखिएको छ।
