शैक्षिक संस्थामा हुने उत्पीडन र दुर्व्यवहारका घटनालाई सम्बोधन गर्न नयाँ पहल

Spread the love

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयदेखि विश्वविद्यालयसम्मका शैक्षिक संस्थामा हुने उत्पीडन र दुर्व्यवहारका घटनालाई सम्बोधन गर्न नयाँ पहल अघि बढाएको छ। मन्त्री सस्मित पोखरेलले बुधबार सार्वजनिक रूपमा आह्वान गर्दै यस्ता समस्या भोगिरहेका विद्यार्थीहरूलाई मन्त्रालयमै प्रत्यक्ष रूपमा गुनासो दर्ता गर्न आग्रह गरेका छन्।मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत विद्यार्थीहरूलाई लक्षित गर्दै आफूले भोगेका वा देखेका दुर्व्यवहारका घटनाबारे जानकारी गराउन अनुरोध गरेका हुन्। मन्त्रालयले सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्ने लक्ष्यसहित प्राप्त उजुरीमाथि तत्काल अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

मन्त्रालयले शैक्षिक संस्थाभित्र हुने कुनै पनि प्रकारका शोषण तथा दुर्व्यवहारप्रति ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरेको मन्त्री पोखरेलले स्पष्ट पारेका छन्। उनले मन्त्रालयले यस्ता घटनालाई गम्भीर रूपमा लिँदै प्रत्यक्ष रूपमा गुनासो सुन्ने र कानुनी तथा प्रशासनिक कारबाही अघि बढाउने विशेष संयन्त्र सञ्चालनमा ल्याइएको उल्लेख गरेका छन्।उजुरी दिने व्यक्तिको पहिचान गोप्य राखिने र सुरक्षा सुनिश्चित गरिने प्रतिबद्धता पनि मन्त्रालयले जनाएको छ। गुनासो दर्ताका लागि तयार गरिएको फारममा विद्यार्थीले आफ्नो शैक्षिक संस्थाको विवरण, घटनाको प्रकृति तथा विस्तृत जानकारी उल्लेख गर्नुपर्ने व्यवस्था छ।फारममा जातीय तथा लैङ्गिक भेदभाव, शाब्दिक वा भौतिक दुर्व्यवहार, यौनजन्य हिंसा, मानसिक दबाब, बुलिङ र अनलाइन दुर्व्यवहारजस्ता विभिन्न शीर्षकमा उजुरी दर्ता गर्न सकिने विकल्प समावेश गरिएको छ।