ग्लोबल आइएमई प्लाटिनम गल्फ प्रतियोगिता मंसिर १२ र १३ गते हुने
टिकाराम भन्डारि
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आगामी मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भएको छ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गल्फ खेलाडीहरूको सहभागिता रहनेछ। खेलकुदको प्रवर्द्धन, खेलाडीबीच आपसी सम्बन्ध विस्तार तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ।
प्रतियोगिताले खेलप्रेमीहरूलाई खेल, प्रकृति र आपसी सद्भावको अनुपम अनुभव प्रदान गर्ने विश्वास आयोजकले लिएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने प्रतियोगिताले गल्फ खेलप्रति आकर्षण बढाउनुका साथै नेपालको खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगिताको मुख्य आकर्षणका रूपमा ‘होल इन वान’ गर्ने खेलाडीलाई आधुनिक स्कोडा एसयूभी गाडी पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ। त्यसैगरी अन्य विधामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता खेलाडीहरूलाई चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
बैंकले यस प्रतियोगितामार्फत खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप मजबुत बनाउँदै सामाजिक तथा खेलकुद गतिविधिमा आफ्नो सहभागिता विस्तार गर्न खोजेको छ। प्रतियोगिताले गल्फ खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
