निजी अस्पतालमा कम्तीमा १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ लागू गर्ने
काठमाडौँ — निजी अस्पतालका कम्तीमा १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ लागू गर्ने निर्णय गरेसँगै देशभर यसको सरकारी तथा निजी अस्पतालका कम्तीमा १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ लागू गर्ने निर्णय गरेसँगै देशभर यसको कार्यान्वयन सुरु भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार हालसम्म ३२ अस्पताल (१९ निजी र १३ सरकारी) मा उक्त व्यवस्था कार्यान्वयन भइसकेको छ। यो निर्णय विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई उपचार पहुँच सुनिश्चित गर्न तथा स्वास्थ्य सेवामा सामाजिक उत्तरदायित्व बढाउन लक्षित गरिएको हो।चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारअन्तर्गत स्वास्थ्य क्षेत्रका लागि ६ बुँदे सुधार योजना अघि सारेको थियो। सोही योजनाअनुसार विभिन्न अस्पतालमा सेवा गुणस्तर सुधारका लागि अनुगमन तथा पृष्ठपोषणसमेत गरिएको मन्त्रालयले जनाएको छ।वीर अस्पताल, गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताललगायतका प्रमुख स्वास्थ्य संस्थामा सेवा सुधारका पहल अघि बढाइएको छ। साथै, अस्पताल सेवा सुधार निर्देशिकाको प्रारम्भिक मस्यौदा पनि तयार पारिएको छ।प्रदेश स्तरमा पनि सुधारका कार्य अघि बढाइएका छन्। सुदूरपश्चिमका टीकापुर, महाकाली र सेती प्रादेशिक अस्पताल तथा मधेस प्रदेशको कलैया अस्पतालमा जलन उपचार वार्ड स्थापना गर्ने तयारी भइरहेको छ। जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरुद्ध जलन उपचार सेवा पुनःसञ्चालन गरिएको छ।
त्यसैगरी, दुर्गम तथा पहाडी क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवा सुदृढ गर्न एयर एम्बुलेन्स सेवा तयारी अवस्थामा राखिएको छ। गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारका लागि आवश्यक कार्यविधि संशोधनमा सम्बन्धित मन्त्रालयसँग समन्वय भइरहेको छ।स्वास्थ्य सेवामा पारदर्शिता र जवाफदेहिता बढाउन क्यूआर कोड र छुट्टै इमेलमार्फत गुनासो सङ्कलन प्रणाली सञ्चालनमा ल्याइएको छ। एकीकृत प्रणालीमार्फत गुनासो सम्बोधन प्रक्रिया पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ।
