कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीले बिहीबार बिहान मुख्य ग्यास क्षेत्रमा रकेट आक्रमण भएको पुष्टि
इरानले कतारको रास लाफानस्थित ऊर्जा परिसरमा पुनः क्षेप्यास्त्र प्रहार गरेको छ। कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीले बिहीबार बिहान मुख्य ग्यास क्षेत्रमा रकेट आक्रमण भएको पुष्टि गरेको हो।कतारका अनुसार आक्रमणपछि क्षेत्रमा आगलागी भएको छ र ठूलो मात्रामा भौतिक क्षति पुगेको छ। यद्यपि घटनामा मानवीय क्षति नभएको जनाइएको छ।यसअघि बुधबार पनि इरानले सोही रास लाफान औद्योगिक क्षेत्रमा आक्रमण गरेको थियो, जसबाट उल्लेखनीय क्षति भएको थियो। इरानले उक्त आक्रमण इजरायलले आफ्नो देशको साउथ पार्स ग्यास क्षेत्रमा गरेको हमलाको जवाफस्वरूप गरेको बताइएको छ।रोयटर्सका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले चेतावनी दिँदै ऊर्जा पूर्वाधारमा आक्रमण जारी रहे थप कडा प्रतिक्रिया दिने जनाएको छ। आईआरजीसीसँग सम्बद्ध ‘तस्निम’ समाचार एजेन्सीका अनुसार इजरायलले बुधबार इरानको साउथ पार्स ग्यास फिल्डस्थित पेट्रोकेमिकल कम्प्लेक्समा हवाई आक्रमण गरेको थियो।साउथ पार्स विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र हो, जहाँ इरान र कतार दुवैले आफ्ना ऊर्जा परियोजनाहरू सञ्चालन गर्दै आएका छन्। आक्रमणपछि त्यहाँ कार्यरत कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
