समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई मन्त्री नबनाउने प्रारम्भिक सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनको तयारीसँगै समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई मन्त्री नबनाउने प्रारम्भिक सहमति बनाएको छ।पार्टी स्रोतका अनुसार शीर्ष नेतृत्वबीच यस विषयमा अनौपचारिक समझदारी भइसकेको भए पनि अन्तिम निर्णय भने परिस्थिति हेरेर गरिनेछ।हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जित्दै सरकार गठनको स्पष्ट आधार तयार गरेको छ। यसअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने सहमति भइसकेको छ।बालेन नेतृत्वको मन्त्रिपरिषद् सानो र दक्ष बनाउने लक्ष्यसहित मन्त्री चयनमा विषयगत विज्ञता र कार्यक्षमतालाई प्राथमिकता दिने तयारी भइरहेको छ।यसबीच पार्टीभित्र केही सांसदहरू मन्त्री बन्न सक्रिय भएको चर्चा पनि सुरु भएको छ। सभापति रवि लामिछानेले अभिमुखीकरण कार्यक्रममा नै यस्तो प्रवृत्तिप्रति संकेत गर्दै पदका लागि हुने ‘लबिइङ’प्रति असन्तुष्टि जनाएका थिए।रास्वपामा प्रत्यक्षतर्फबाट शिक्षा, स्वास्थ्य, पूर्वाधार, अर्थतन्त्र, कानुन र परराष्ट्रजस्ता क्षेत्रमा अनुभवी तथा विज्ञ सांसद निर्वाचित भएका छन्। समानुपातिकतर्फ पनि केही विज्ञ भए पनि प्राथमिकता प्रत्यक्ष निर्वाचित सांसदलाई दिने तयारी देखिएको छ।पार्टी नेतृत्वबीच केही सम्भावित मन्त्रीको नाममा सहमति भइसकेको छ भने अन्यबारे छलफल जारी रहेको स्रोतको भनाइ छ।यसैबीच निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिसकेको छ। आगामी चैत १२ गते सांसदहरूको शपथ र १५ गते संसद्को पहिलो बैठक आह्वान गर्ने तयारी छ। त्यसपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ।
