उषाकिरण तिम्सेनाले महासचिव शंकर पोखरेललाई राजीनामा दिन आग्रह

Spread the love

नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सेनाले महासचिव शंकर पोखरेललाई राजीनामा दिन सुझाएकी छन् । विगत लामो समयदेखि नेतृत्व नसच्चिएको परिणाम चुनावको नतिजाले देखाएको भन्दै उनले महासचिव तहसम्मको सबै पुस्ताले नेतृत्वबाट बिदा लिनुपर्ने बताएकी हुन् । 

शिलापत्रसँग कुरा गर्दै तिम्सेनाले पार्टी नेतृत्व समाजबाट पुरै बेखबर बनेको हुँदा हालको परिणाम भोग्नुपरेको तर्क गरिन् । ‘यो नतिजाले एमाले मात्रै सकिएको भए ठूलो चिन्ता थिएन । यहाँ त राज्यका मूल्य, मान्यतामाथि नै प्रहार गरियो,’ उनले भनिन् ‘हिजो दुई दलीय मात्रै व्यवस्था चाहिन्छ भनेर वकालत गर्नेले बुझुन्, हाम्रो संविधानमा बहुदलीय व्यवस्था किन राखियो ।’

राजीनामा दिनु भन्ने कुरा कुनै व्यक्तिगत नभएको तर राजनीतिक दृष्टिले पार्टीलाई यो अवस्थामा पुर्‍याउनेहरूलाई नेतृत्वमा बसिरहन कुनै नैतिकताले नदिने उनको भनाई छ । ‘आज मानिसहरू के भन्दै छन्, विश्वमा के हुँदैन भन्ने खबर केही बुझ्नुभएन उहाँहरूले,’ तिम्सेनाले भनिन् ‘खाली बालकोट, च्यासल मात्रै चहारेर अध्यक्षका मुखारबिन्दुबाट के वाणी आयाे भन्ने बाहेक केही गरेको देखिएन । विगत १० वर्षदेखि यस्तो भइरहेकाे छ ।’ 

उनले पार्टी नेताहरूले कस्मेटिक सफलता मात्रै देखाएर जनता भुलाउने प्रयत्न मात्रै गरिरहेको बताइन् । सिंगाे केन्द्रीय कमिटी समाजसँग नजोडिएको हुँदा असन्तुष्टिका आवाज सुन्न र महसुस गर्न नसकेको उनको भनाइ छ । 

‘हाम्रो नेतृत्व सत्ता र शक्तिसँग पावर इन्जोय गरेर बसिरहेको थियो,’ उनले भनिन् ‘केही हुन नसक्ने ठाउँमा भ्यू टावर बनाएर, धरहरा, रानी पोखरीको पुर्नसंरचना लगायतलाई ठूलाे उपलब्धि मानेर बस्यौँ । समाजबाट जम्मै बेखबर हुनु नै असफलताको कारण हो ।’ 

आफ्नै पुस्ताले लडेर गणतन्त्र ल्याएको हुँदा यस उपलब्धिलाई व्यक्तिको चलखेल गर्ने अवसरका रूपमा मात्रै नेताहरूले लिएको उनको भनाई छ । समाजले जहिल्यै पनि भविष्यप्रति हेरेर आशावादी हुने ठाउँमा मात्रै अघि बढ्ने हुँदा अहिलेको नजिता आएको उनले तर्क छ ।