एमालेको कुशासनका कारण मुलुकमा जेनजी आन्दोलन उत्पन्न भएको दाबी
नारायणकाजी श्रेष्ठले एमालेको कुशासनका कारण मुलुकमा ‘जेनजी आन्दोलन’ उत्पन्न भएको दाबी गरेका छन्।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सर्लाही–काठमाडौं सम्पर्क समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले तत्कालीन माओवादी नेतृत्वको सरकार सुशासनको पक्षमा काम गरिरहेका बेला एमाले सरकार ढालेकाले नै असन्तोष चुलिएको बताए।सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठले आफू गृहमन्त्री हुँदा सुशासन र सामाजिक न्यायका पक्षमा ऐतिहासिक पहल गरेको दाबी गरे। “हामीले भ्रष्टाचारविरुद्ध अभियान चलायौँ। विभिन्न काण्डमा जोडिएकाहरू अत्तालिएपछि हाम्रो सरकार ढालियो,” उनले भने।उनले भुटानी शरणार्थी प्रकरण, ललिता निवास, बाँसबारी छालाजुत्ता र सुन तस्करी जस्ता मुद्दामा अभियान चलाइएको उल्लेख गर्दै मिटरब्याज पीडितलाई न्याय दिन पहल गरिएको बताए। यदि सुशासनको अभियान निरन्तर चलाउन पाएको भए जेनजी आन्दोलन नहुने उनको ठोकुवा थियो।श्रेष्ठले आगामी फागुन २१ गते हुने चुनावलाई निर्णायक बताउँदै यसले राष्ट्रिय स्वाधीनता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य तय गर्ने दाबी गरे। विदेशी हस्तक्षेप बढ्दै गएको उल्लेख गर्दै उनले त्यसलाई परास्त गर्न नेकपा बलियो हुनुपर्नेमा जोड दिए।
उनले मुलुकमा प्रतिगामी, यथास्थितिवादी, नयाँ भनिने शक्ति र अग्रगामी परिवर्तनका पक्षधर शक्ति गरी चार धारबीच संघर्ष चलिरहेको टिप्पणी गरे। “संविधान र समावेशितामाथि खतरा उत्पन्न भएको छ। त्यसलाई जोगाउन अग्रगामी शक्ति बलियो हुनुपर्छ,” उनले भने।तराई–मधेसको विकासमा असमानता रहेको उल्लेख गर्दै श्रेष्ठले सर्लाहीसहित मधेसका जिल्लामा शिक्षा, स्वास्थ्य र अव्यवस्थित बसोबासका समस्यामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
