देश-प्रदेशविश्व परिवेशसमाचार

सबै विद्यालयमा नर्सको व्यवस्था गरिने

Spread the love

बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले प्रदेशभित्रका १३ जिल्लाका ११९ वटै स्थानीय तहमा रहेका माध्यमिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’को व्यवस्था गरिने बताउनुभएको छ । आइतबार धुलिखेल अस्पतालको २५ औँ वार्षिकोत्सव कार्यक्रमअन्तर्गत आयोजना गरिएको ‘बेसिक लाइफ सपोर्ट डे’ कार्यक्रममा मन्त्री लामाले प्रदेशभित्रका सबै माध्यमिक विद्यालयमा नर्सको व्यवस्था गरिने बताउनुभएको हो । मन्त्री लामाले प्रदेश सरकारले हालसम्म ११९ वटा स्थानीय तहका ४५९ विद्यालयमा ‘एक विद्यालय, एक नर्स’को व्यवस्था गरिएको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षमा थप ६० वटा विद्यालयमा नर्सको व्यवस्था गर्न बजेट विनियोजन गरिएको जानकारी दिनुयो । स्वास्थ्यमन्त्री लामाले क्यान्सरलगायतका नसर्ने रोगका बिरामीका लागि सङ्घीय सरकारले दिने एक लाख रुपिँयाको उपचार खर्चमाथि प्रदेश सरकारको तर्फबाट थप पचास हजार रुपिँया सहयोग उपलब्ध गराउने बताउनुभयो । उहाँले रगत अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले रेडक्रस र ब्लड बैङ्कमा उपलब्ध हुने रगतलाई नि:शुल्क गरिएको स्पष्ट पार्नभयो । यस वर्षदेखि धुलिखेल अस्पतालले साउन १ गतेलाई ‘बेसिक लाइफ सपोर्ट डे’ (आधारभूत जीवन सहायता दिन) का रुपमा मनाउने भएको छ । अस्पतालले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र क्यानेडियन रेडक्रसको सहयोगमा काभ्रेपाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका स्वास्थ्यकर्मी, एम्बुलेन्समा हिँड्ने पारामेडिक्स र स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारीलाई बेसिक लाईफ सपोर्ट तालिम प्रदान गरेको छ । तालिममा बिरामीको मुटुको धड्कन बन्द भएको खण्डमा मुटुको धड्कन पुनरुत्थान गरेर बिरामीलाई होसमा ल्याउने विधि सिकाइएको धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा.सानुकृष्ण श्रेष्ठले बताउनुभयो । अस्पतालले आधारभूत जीवन सहायता तालिमअन्तर्गत काभ्रेमा ३६९, सिन्धुपाल्चोकमा ९६८ र धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी १८० जनालाई तालिम प्रदान गरिएको धुलिखेल अस्पताल डा.सम्झना काफ्लेले जानकारी दिनुभयो ।