चितवनमा दुई स्थानबाट १८ जना कौडा खेलाडी पक्राउ ३ लाख ५९ हजार बढी नगद बरामद
चितवन । चितवनमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट १८ जनालाई नगद तथा कौडासहित नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट ३२ थान कौडा र ३ लाख ५९ हजार १८० रुपैयाँ नगद बरामद गरेको छ।
प्रहरीका अनुसार पहिलो घटना २०८३ कात्तिक २४ गते राति १०ः२५ बजे रत्ननगर नगरपालिका–१२ रामलाल चोकमा भएको हो। इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले ११ जनालाई १६ थान कौडा र २ लाख २५ हजार ३६० रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।
त्यसैगरी, दोस्रो घटना २०८३ कात्तिक २५ गते राति १२ः०५ बजे भरतपुर महानगरपालिका–२७ धरमपुरमा भएको हो। जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त टोलीले सात जनालाई १६ थान कौडा र १ लाख ३३ हजार ८२० रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
दोस्रो घटनामा पक्राउ पर्नेमा भरतपुर–२७ मेघौलीका टेकबहादुर गुरुङ (३७), सञ्जोग भन्ने डोलबहादुर खत्री क्षेत्री (३६), बुद्धनगरका शिवप्रसाद अधिकारी (३५), धरमपुरका गुणबहादुर गुरुङ (४३), राजेश केसी (३९), धनबहादुर क्षेत्री (४९) र लक्ष्मण क्षेत्री (३५) रहेका छन्।घटनामा पक्राउ परेका १८ जनामाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चितवनमा लगातार दुई दिनमा दुई स्थानबाट ठूलो रकमसहित कौडा खेल्नेहरू पक्राउ परेपछि जिल्लामा जुवाजन्य गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको देखिएको छ।
