भाइटीका बिहान ११ः०७ बजे उत्तम साइत
सुरेस कुमार थपलिया
काठमाडौं, कात्तिक २५। नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अन्तिम दिन आज बुधबार देशभर भाइटीका हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा मखमली र सयपत्री फूलको माला लगाइदिने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा निर्धारण गरेको छ। समितिका अनुसार टीका लगाउँदा दाजुभाइ पश्चिम फर्कने र दिदीबहिनी पूर्व फर्किएर टीका लगाइदिने परम्परागत विधि रहेको छ।
भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव, आत्मीयता र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व हो। यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई मिठाई, फलफूल तथा उपहार दिने र दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने चलन छ।
आजको दिनले परिवारमा आपसी प्रेम, एकता र सद्भाव कायम राख्न विशेष सन्देश दिने विश्वास गरिन्छ।
