कांग्रेसका नेता रमेश लेखक पाँच महिनापछि कञ्चनपुरको बेदकोट आफ्नो घर पुगे
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि आज बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित आफ्नो पुर्खौली घर पुगेका छन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीले आगजनी गर्दा उक्त पुर्खौली घर पूर्णरूपमा जलेर नष्ट भएको थियो। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिएका छन्।
आगजनीपछि लेखकको बेदकोट–८ स्थित पुर्खौली घर र काठमाडौँको नैकापमा रहेको घर दुवै पूर्णरूपमा जलेर नष्ट भएका छन्। हाल उनी महेन्द्रनगरस्थित बजार क्षेत्रमा रहेको घर मर्मत गरी त्यहीँ आश्रय लिइरहेका छन्। पुर्खौली घर पुगेका लेखकले स्थानीयवासीसँग साक्षात्कार गर्दै गाउँमा भइरहेको सडक पूर्वाधारलगायत विकासका विषयमा जानकारी लिएका थिए।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट २०७९ सालको निर्वाचन जितेर गृहमन्त्री बनेका लेखक यसपटक भने उम्मेदवार छैनन्। नेपाली कांग्रेसले यस निर्वाचनमा पूर्वजिल्ला पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएपछि लेखकले पार्टी उम्मेदवारको पक्षमा चुनावी भेटघाटलाई तीव्रता दिएका छन्।
