ध्वस्त संरचना पुनर्जीवित गरेर नेपाली निजी क्षेत्रको जुझारुपन र पुनरुत्थान क्षमताको उदाहरण प्रस्तुत
भदौ २३ र २४ गतेको ४८ घण्टा भाटभटेनी सुपरमार्केटका लागि इतिहासकै सबैभन्दा कठिन र भयावह समय बन्यो। ‘जेनजी’ आन्दोलनको नाममा भएको आगजनी र लुटपाटले कोटेश्वरस्थित भाटभटेनी स्टोर खण्डहरजस्तै बनेको थियो। धेरैले यो विशाल व्यावसायिक संरचना पुनः उठ्न वर्षौं लाग्ने अनुमान गरेका थिए।तर, पाँच महिनापछि कोटेश्वर भाटभटेनी पुनः सञ्चालनमा आउन लागेको छ। शनिबारदेखि स्टोर पुनः खुल्दैछ, जहाँ हिंसाको कुनै चिनो देखिने छैन। यो पुनर्निर्माण कुनै जादुको परिणाम होइन, बरु सञ्चालक मीनबहादुर गुरुङको नेतृत्व, श्रमिकको पसिना र सामूहिक संकल्पको परिणाम हो।मंसिर २४ गतेदेखि सुरु भएको पुनर्निर्माणमा गुरुङ आफैं करिब ६० दिनसम्म ‘फिल्ड ड्युटी’मा खटिए। हरेक बिहान ७ बजे स्टोर पुग्ने र राति ९ बजेसम्म निर्माणस्थलमै रहने उनी करिब ६ सय श्रमिकसँगै काममा जुटे। श्रमिकसँगै बसेर खाजा खाने, समस्या सुन्ने र हौसला दिने उनको शैलीले कामदारको मनोबल उच्च बनाएको व्यवस्थापन बताउँछ।भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानुदत्त पौडेल भन्छन्, “अध्यक्षज्यू आफैं फिल्डमा खटिएपछि श्रमिकहरू अत्यन्तै प्रेरित भए। मालिक होइन, सहकर्मीका रूपमा उहाँको उपस्थितिले ६० दिनमै पाँचतले संरचना ठडिन सक्यो।”भाटभटेनी व्यवस्थापनका अनुसार हिंसा र लुटपाटबाट करिब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। काठमाडौं उपत्यकाका पाँच र उपत्यकाबाहिरका सात स्टोरमा आगजनी र तोडफोड भएको थियो। तर, गुरुङले निराश हुनुभन्दा पुनर्निर्माणलाई प्राथमिकता दिए।मंसिर १८ मा बालुवाटार वेयरहाउस सञ्चालनमा आइसकेको छ भने अहिले कोटेश्वर स्टोर तयार भएको छ। आगामी दुई–तीन हप्ताभित्र महाराजगञ्ज स्टोर सञ्चालनमा ल्याउने तयारी छ। व्यवस्थापनका अनुसार असार मसान्तभित्र बाँकी ९ वटा स्टोर पनि पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ।खोटाङको सामान्य परिवारबाट उठेर २०४१ सालमा महाराजगञ्जको १२० वर्गफिट सटरबाट भाटभटेनी सुरु गरेका मीनबहादुर गुरुङले यसपटक ध्वस्त संरचना पुनर्जीवित गरेर नेपाली निजी क्षेत्रको जुझारुपन र पुनरुत्थान क्षमताको उदाहरण प्रस्तुत गरेका छन्।भदौको खरानीबाट उठेर माघ अन्त्यमा सञ्चालनमा आउन लागेको कोटेश्वर भाटभटेनी अब केवल एउटा सुपरमार्केट होइन, यो नेपाली उद्यमशीलताको आत्मविश्वास र ‘बाउन्स ब्याक’ क्षमताको प्रतीक बनेको छ।
