देशका युवाका लागि समान अवसर र नेपालीलाई नेपाली भएर बाँच्न सक्ने वातावरण-सुमना श्रेष्ठ

Spread the love

रास्वपा छाडेकी पूर्वनेतृ तथा पूर्वमन्त्री सुमना श्रेष्ठले सार्वजनिक अभिव्यक्तिमार्फत पार्टीभित्रको आन्तरिक लोकतन्त्र, प्रश्न गर्ने संस्कार र नेतृत्वको उत्तरदायित्वबारे तीखो टिप्पणी गर्दै आफू झनै खरो बनेर बाहिरिएको सन्देश दिएकी छन्। उनले व्यक्तिगत अवसरका लागि होइन, देशका युवाका लागि समान अवसर र नेपालीलाई नेपाली भएर बाँच्न सक्ने वातावरण निर्माणको एजेन्डासहित राजनीतिमा रहेको स्पष्ट पार्दै अवसर नपाएर रास्वपा छाडेको आरोप अस्वीकार गरेकी छन्। दलभित्र प्रश्न दबाउने, मिडिया ट्रायल र साइबर बुलिङमार्फत चरित्र हत्या गर्ने प्रवृत्तिले लोकतन्त्र समाप्त हुने चेतावनी दिँदै उनले नयाँ रास्वपामा उठिरहेका प्रश्नलाई नेतृत्वले सुधारका अवसरका रूपमा लिने विश्वास व्यक्त गरेकी छन्। दल, चिन्ह र पद अस्थायी भए पनि जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म भएको उल्लेख गर्दै उनले नयाँ रास्वपामा लोकतान्त्रिक मूल्य–मान्यता जोगिँदै नयाँ सम्भावनाहरू फल्ने–फुल्ने वातावरण बनोस् भन्ने शुभकामना दिएकी छन्। सो क्रममा सुमनाले रास्वपालाई नयाँ रास्वपा भनेर नामाकरण समेत गरेकी छन् ।