ज्ञान सीप सूचना विचार र सिद्धान्तको ट्रान्सफर हुनु जरुरी-सुनिता डंगोल

Spread the love

सबिना प्रजा

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राजनीतिमा केवल उमेरले मात्र युवा भएर काम हुँदैन भन्दै ज्ञान, सीप र स्पष्ट दृष्टिकोणको महत्व औँल्याएकी छन्।मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै डंगोलले राजनीतिलाई उमेरको सिमामा मात्र सीमित गरेर हेर्न नहुने बताइन्। उनले भनिन्, “राजनीतिमा आउनका लागि ज्ञान, विज्ञता, सीप र महत्त्वपूर्ण कुरा ऊर्जा आवश्यक हुन्छ। उमेरले मात्र युवा भएको कारणले ज्ञान र नेतृत्व क्षमता नभए यसको अर्थ हुँदैन।”डंगोलले जुनसुकै उमेर समूहका व्यक्तिले पनि देशको लागि निरन्तर योगदान दिन सक्ने ऊर्जा र क्षमता हुनु जरुरी रहेकोमा जोड दिइन्।पछिल्लो समय उठिरहेको पुस्तान्तरणको बहसबारे उनले टिप्पणी गर्दै भनिन् कि केवल पद हस्तान्तरण गर्नु मात्र पुस्तान्तरण होइन। उनले भनिन्, “आमा–बुवाले छोराछोरीलाई अंश दिएजस्तो दिने कुरा हामीले पुस्तान्तरण मान्न सक्दैनौं। पुस्तान्तरणका लागि ज्ञान, सीप, सूचना, विचार र सिद्धान्तको ट्रान्सफर हुनु जरुरी छ। केवल एउटा व्यक्तिलाई हटाएर अर्को ल्याउने कुरा मात्र भए राजनीति अझै दुर्घटनाग्रस्त हुन सक्छ।” भनाई राख्नु भयाे।