श्रमिक वर्ग र उत्पीडित समुदायको एकतामा जोड दिँदै समाजवादी रूपान्तरणका लागि राष्ट्रिय शक्ति निर्माण गर्ने

Spread the love

सबिना प्रजा

नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच औपचारिक रूपमा एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । दुई दलबीच भएको यो सहमतिलाई पछिल्लो समय विकसित नयाँ राजनीतिक परिस्थिति र वैकल्पिक तथा अग्रगामी शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयासका रूपमा हेरिएको छ ।सहमति अनुसार एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी नै रहनेछ भने चुनाव चिन्ह ‘तारा’ कायम गरिनेछ । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीका सदस्य हुनेछन् । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति, मातहतका समिति र जनवर्गीय संगठनहरू आपसी सहमतिमा नेपाली कम्युनिस्ट पार्टीमा समायोजन गरिनेछ ।सहमति पत्रमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको उल्लेख गर्दै विविधतामा एकता नेपाली राष्ट्रिय विशेषता भएको स्वीकार गरिएको छ । विगतका जनआन्दोलन, जनयुद्ध, मधेस विद्रोह र पछिल्लो जेन–जी आन्दोलनपछि बनेको राजनीतिक अवस्थालाई ध्यानमा राख्दै अग्रगामी परिवर्तनका पक्षधर सबै शक्तिलाई एकताबद्ध गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

दुवै पार्टीले विगतमा सरकार र राज्यका निकायमा रहँदा भएका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै संघीयता, सुशासन, सामाजिक न्याय र समृद्धिको आधारमा समाजवादतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सडक, सदन र सरकार तीनै तहबाट संघर्ष गर्दै संघीय समाजवादी गणतन्त्रलाई सुदृढ बनाउने सहमतिमा उल्लेख छ ।सहमति पत्रमा नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रमका रूपमा अंगीकार गर्दै वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक विभेद अन्त्य गरी समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्ने लक्ष्य लिइएको छ । पार्टी सञ्चालन सामूहिक नेतृत्व, समावेशी प्रतिनिधित्व र जनवादी केन्द्रीयताको संगठनात्मक पद्धतिअनुसार गरिनेछ ।संविधानका सकारात्मक पक्षको रक्षा र सुदृढीकरण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीय संरचनालाई सशक्त बनाउने विषयमा नवयुवा पुस्ताको भावनालाई समेत समेटेर आवश्यक संविधान संशोधन र अग्रगामी परिमार्जनका लागि पहल गर्ने सहमतिमा उल्लेख छ । साथै महिला, थारू, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक, पिछडिएका वर्ग र क्षेत्रलाई राज्यका सबै तहमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने प्रतिबद्धता जनाइएको छ ।सहमतिपत्रमा टिकापुर घटनासँग सम्बन्धित प्रतिशोधपूर्ण मुद्दा खारेज गर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने विषय पनि समेटिएको छ । श्रमिक वर्ग र उत्पीडित समुदायको एकतामा जोड दिँदै समाजवादी रूपान्तरणका लागि राष्ट्रिय शक्ति निर्माण गर्ने लक्ष्य अघि सारिएको छ । सम्पन्न सहमतिपत्रमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् । दुवै दलले यो एकीकरणलाई देशको अग्रगामी राजनीतिक यात्राको नयाँ चरणका रूपमा प्रस्तुत गर्दै समान विचारधारा भएका सबै शक्ति र व्यक्तिलाई नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध हुन आह्वान गरेका छन् ।