जगदीश खरेल रास्वपा इन्ट्री गर्दै
सबिना प्रजा
बालेन शाहपछि जनताको प्रश्न सोध्ने चर्चित पत्रकारको परिचय बनाएका जेनजी सरकारका सञ्चारमन्त्री जगदीश खरेल पनि रास्वपामा प्रवेश गर्ने तयारीमा रहेका छन् । भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमतिसहित बालेन प्रवेश गरेसँगै नयाँ वैकल्पिक शक्तिहरुको अन्तिम केन्द्रविन्दु नै रास्वपा बनेको छ । आम जनताले सोध्ने सामान्य तर कठोर प्रश्न नेताहरुलाई सोध्ने जगदीशले पत्रकारिता पेशा नै त्यागेर सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्दै पूर्णकालीन राजनीतिमा लाग्ने योजना बनाइसकेका छन् । कांग्रेसमा संलग्न भएपनि जेनजी आन्दोलनपछि दल परिवर्तन गर्ने सोच बनाएका जगदीश बालेन समेत एकतामा आएसँगै रास्वपामा प्रवेश गरेर ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने योजना बनाएका छन् । कांग्रेस भन्दा रास्वपामा आफ्नो उचाइ बढ्ने, अवसर र काम गर्ने वातावरण मिल्ने जगदीशको बुझाइ रहेको छ । विगतमा पत्रकारिता पेशामै रहेका रवि लामिछानेसँग पनि जगदीशको राम्रो सम्बन्ध रहेको छ । कुनै बेला उनीहरु एउटै संस्थामा रहेर पनि पत्रकारिता गरेका थिए । त्यस्तै बालेनसँग पनि जगदीशको राम्रो उठबस रहेको छ । जसको कारण रवि र बालेनसँगै अन्य नेता कार्यकर्ताहरु पनि जगदीशलाई रास्वपामा प्रवेश गराउन निकै सकारात्मक रहेका छन ।
