दुर्गा प्रसाईंसहित पुस २ गते अर्को वार्ता बस्ने सहमति
सरकारले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान ले उठाएका मागहरू सम्बोधन गर्न आन्तरिक तथा समस्या समाधान समिति गठन गरेको छ। आन्दोलन र वार्ताको प्रक्रियालाई औपचारिक रूप दिन सरकारको तर्फबाट समिति बनाइएको हो।सरकारी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा गठित समितिमा प्रधानमन्त्रीका सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य रहेका छन्।सरकारले उक्त समितिसँग औपचारिक वार्ता गर्न महाअभियानको तर्फबाट पनि तीन जना प्रतिनिधि सिफारिस गरेर पठाउन आग्रह गरेको छ। समितिले आन्दोलनका मागहरूबारे छलफल गरी समाधानको बाटो खोज्ने जनाइएको छ।
यसअघि मंसिर २२ गते प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंसहित महाअभियानका पदाधिकारीबीच वार्ता भएको थियो। सो वार्तामा मागहरूबारे छलफललाई निरन्तरता दिने सहमति गर्दै पुस २ गते अर्को वार्ता बस्ने सहमति भएको थियो।सरकारको यो कदमलाई आन्दोलनरत पक्षसँग संवादमार्फत समाधान खोज्ने प्रयासका रूपमा हेरिएको छ।
