आफ्नो पक्ष क्लिन स्विप भएपछि पुन प्रतिनिधि छनोट गर्न निर्देशन
ईश्वर पोखरेल पक्षले ओखलढुङ्गामा महाधिवेशन प्रतिनिधि छनोटमा गरेको क्लिन स्विप विरुद्ध एमालेले पुनःचुनाव गराउन निर्देशन दिएको छ । एमालेकै नेता कार्यकर्ताले आफूविरुद्ध ईश्वर पोखरेल महाधिवेशनमा प्रतिष्पर्धा गर्ने भएपछि ओलीले दादागिरी शैली अपनाएको टिप्पणी गर्न थालेका छन् । आफूसँग अध्यक्षमा प्रतिष्पर्धा गर्न लागेका ईश्वर पक्षले क्लिन स्विप गरेपछि ओलीकै आदेशमा पुनःप्रतिनिधि छनोट गर्न चुनाव गराउँन एमालेले निर्देशन दिएको हो । क्लिन स्विपको असर आउँदो महाधिवेशनमा आफूलाई अध्यक्षमा जित्न कठिन हुने देखेपछि आफ्नो पक्षका प्रतिनिधिलाई पनि विजय गराउने रणनीतिका साथ पुनःप्रतिनिधि छनोट गराउन निर्देशन दिइएको एमालेकै नेताहरुले बताउँने गरेका छन् । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि छनोटका लागि शनिबार ओखलढुंगामा भएको निर्वाचनमा १५१८ मत खसेको थियो। निर्वाचनमा ईश्वर पोखरेलको समूहले ओखलढुङ्गामा ‘क्लीन स्वीप’ गरेको थियो। सबै १२ प्रतिनिधि पोखरेल पक्षकै निर्वाचित भएका थिए।
एमाले केन्द्रीय कार्यालयले ओखलढुङ्गा जिल्ला कमिटीलाई प्रतिनिधि निर्वाचन प्रक्रिया पाँच दिनभित्र पुनः सुरु गर्न निर्देशन दिएको छ। १६ मंसिरमा जारी गरिएको पत्रमार्फत केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले सदरमुकाममा गरिएको प्रतिनिधि छनौट प्रक्रिया अस्वीकार्य भएको स्पष्ट गरेका छन्।एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका सम्बन्धमा अपानी–१३ को निर्देशन, आठमध्ये छवटा पालिका कमिटीहरूको माग, बहुसंख्यक इच्छुक उम्मेदवारहरूको असहमति तथा प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशनसमेत उल्लङ्घन गरिएकाले प्रतिनिधि चयन मान्य नहुने निर्णय गरिएको पत्रमा उल्लेख छ। यसका लागि सबै आम सदस्यहरूलाई प्रभावकारी माध्यमबाट सूचना प्रवाह गरी पालिका–स्तरमै मतदान केन्द्र स्थापना गरी पुनः निर्वाचन प्रक्रिया सञ्चालन गर्न निर्देशन दिएको छ। पुनः हुने निर्वाचनलाई सहज बनाउन प्रदेश इञ्चार्ज शेरधन राई तथा केन्द्रीय नेताहरु विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई आवश्यक समन्वय गरी सहयोग गर्न पनि जिम्मेवारी तोकिएको केन्द्रीय कार्यालयले जनाएको छ।
