अपमानजनक व्यवहार गर्ने, काममा ढिलासुस्ती गर्ने वा घूस माग्ने कर्मचारीविरुद्ध कारवाहि हुने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव भीष्मकुमार भूसालद्वारा हस्ताक्षरित निर्णयमा भनिएको छ – सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने, काममा ढिलासुस्ती गर्ने वा घूस माग्ने कर्मचारीविरुद्ध सोही कार्यालयको हटलाइनमा सम्पर्क गर्न सकिनेछ। गुनासो आएपछि मन्त्रालय तथा निकायहरूले तत्काल कारबाही र समाधानको प्रक्रिया अघि बढाउनुपर्नेछ।
यससँगै हटलाइन नम्बरको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि उपलब्ध गराउनुपर्नेछ। साथै प्रदेश सरकार र स्थानीय तहलाई पनि यस्तै व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अनुरोध
सार्वजनिक सेवा प्रवाह गर्ने कुनै पनि सेवा प्रदायक मन्त्रालय, कार्यालय वा निकायमा सेवाग्राहीको काममा ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घूस–रिसवत माग्ने, अनावश्यक दुःख दिने वा अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा देहायका नम्बरमा सम्पर्क गर्नुहुन सम्बन्धित सरोकारवालाहरूमामा अनुरोध गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हटलाइन नम्बरः ९८५११४५०४५
यस निर्णयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलाई समेत बोधार्थ गराइएको छ।
यस कदमले नागरिकलाई सेवा लिँदा सहजता बढ्ने, भ्रष्टाचारजन्य क्रियाकलापमा नियन्त्रण हुने र सरकारी सेवाप्रति विश्वास अझ मजबुत हुने अपेक्षा गरिएको छ ।
